Banijya News

बालेन शाहले प्रयोग गरेको विलासी गाडी र ’सेटिङ’ को पर्दाफास

1
1.1K Shares

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहले झापा भ्रमणका क्रममा प्रयोग गरेको विलासी गाडी ’ल्यान्ड रोभर डिफेन्डर’ खरिदमा गम्भीर राजस्व छली भएको तथ्य फेला परेको छ । ७६ लाख ५० हजार रुपैयाँभन्दा बढी राजस्व छली गरिएको उक्त सवारी साधन र आयातकर्ता कम्पनीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भन्सार विभागले अनुसन्धान तीव्र पारेका छन् ।

झापा क्षेत्र नं. ५ को भ्रमणका क्रममा बालेनले वागमती प्रदेश–०१–०३३ च ४३४३ नम्बरको ल्यान्ड रोभर प्रयोग गरेका थिए । यो गाडी ’करेन्ट चाउचाउ’ का उत्पादक तथा विवादास्पद व्यवसायी कमलकिशोर मालपानीका छोरा रितेश मालपानीले बालेनलाई उपलब्ध गराएका थिए । मालपानी समूहको त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता रहेको यो गाडी करिब ६ करोड रुपैयाँ मूल्यको भएको बताइएको छ । कर छलीको विषय सार्वजनिक भएपछि र चर्को आलोचना भएपछि बालेनले उक्त गाडी चढ्न छोडेका छन्, यद्यपि यसबारे उनको सचिवालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

भन्सार विभाग र अख्तियारको प्रारम्भिक अनुसन्धान अनुसार, काइरोस इन्टरनेसनलले नेपाल भित्र्याएका १५ वटा ल्यान्ड रोभरमध्ये ६ वटामा गम्भीर प्राविधिक विवरण हेरफेर गरिएको छ । २९९६ सीसीको डिजेल इन्जिन (जसमा ३५८.६७% भन्सार लाग्छ) लाई कागजातमा ’पेट्रोल प्लग–इन हाइब्रिड’ (जसमा २५७.९८% मात्र भन्सार लाग्छ) भनी देखाइएको छ । यसबाट राजस्वमा अर्बौंको क्षति भएको पाइएको छ । दुईवटा डिफेन्डरबाट मात्रै १ करोड ५० लाख ११ हजार र अन्य चारवटा गाडीबाट ७१ लाख ४९ हजार रुपैयाँ राजस्व छली भएको पाइएको छ । कर छलीको लागि उत्पादनमै नभएको मोडल समेत देखाईएको छ । रोचक कुरा त के छ भने, ल्यान्ड रोभर कम्पनीले उक्त मोडलमा २९९६ सीसीको पेट्रोल हाइब्रिड गाडी उत्पादन नै नगरेको तथ्य भेटिएको छ ।

गाडी प्रकरणमा केवल व्यवसायी मात्र नभई सरकारी निकायको समेत मिलोमतो रहेको देखिएको छ । यातायात व्यवस्था विभागले सवारी साधनको वास्तविक प्राविधिक क्षमता नबुझी गलत विवरणका आधारमा आयात र दर्ताको अनुमति दिएको पाइएको हो ।

भन्सार जाँचपासका क्रममा कर्मचारीहरूले प्राविधिक परीक्षण नगरी व्यवसायीसँगको साँठगाँठका आधारमा १०१ प्रतिशतसम्म कम महसुलमा गाडी भित्रिन दिएको पाइएको हो । “ओभरसाइट एजेन्सीहरूले यस विषयमा विस्तृत अनुसन्धान गरिरहेका छन् । भन्सार छलीमा संलग्न कर्मचारी र आयातकर्तामाथि आन्तरिक छानबिन पनि सुरु भइसकेको छ ।“ भन्सार विभाग विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काइरोस इन्टरनेसनलले सन् २०२४ यता आयात गरेका १५ वटै गाडीको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । व्यवसायी मालपानी र सरकारी कर्मचारीहरूको ’नेटवर्क’ ले कसरी राज्यको ढुकुटीमा ठूलो क्षति पु¥यायो भन्ने विषय अहिले चर्चाको केन्द्रमा छ । यही राज्यको ढुकुटी रित्याएर नेतालाई गाडि उपहार दिएको चर्चा पछिल्लो समय राजनीतिक बृत्रमा चर्चा छ ।

1

Scroll to Top