Banijya News

एलपी ग्यासको चरम अभाव देखाएर उपभोक्तामाथि चर्को ठगी

1
1.1K Shares

छल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखाएर उपभोक्तामाथि चर्को ठगी भइरहेको छ । नेपाल आयल निगम र उद्योगीहरूले आपूर्ति सहज भएको दाबी गरे पनि सर्वसाधारणले सहजै ग्यास पाउन सकेका छैनन् । यही अन्योलको फाइदा उठाउँदै व्यापारीहरूले ’कृत्रिम अभाव’ सिर्जना गरी ग्यासभन्दा सिलिन्डर बेच्ने धन्दा चलाइरहेका छन् । बजारमा मुख्य गरी तीन तरिकाले उपभोक्ता ठगिएको गुनासो आएको छ । पहिलो ग्यासको सिलिन्डर साट्न ब्यावसायीले अस्विकार गर्दे आएका छन् । उपभोक्तासँग भएको कम्पनीको ग्यास छैन भन्दै अर्को कम्पनीको नयाँ सिलिन्डर महँगोमा किन्न बाध्य पारिएको गुनासो आएको छ । त्यसैगरी व्यापारीले धरौटीमा समेत ब्रह्मलुट गरेको आरोप उपभोत्ताले लगाउँदै आएका छन् ।

उद्योगीका अनुसार खाली सिलिन्डरको धरौटी २ हजारदेखि २२ सय रुपैयाँसम्म हुनुपर्नेमा विक्रेताले २६ सयदेखि ३ हजार रुपैयाँसम्म असुलिरहेका छन् । ग्याससहितको नयाँ सेटलाई ४६ सयदेखि ४८ सय रुपैयाँसम्म लिने गरिएको छ । यसरी दिएको ग्यास खरीदको बिल भने नदिने उपभोक्ता बताउँछन् । महँगो मूल्य लिएपनि व्यापारीले बिल दिँदैनन्, जसका कारण भोलि सिलिन्डर फिर्ता गर्दा उपभोक्ताले आफ्नो धरौटी रकम फिर्ता नपाउने जोखिम छ ।

पसलमा ग्यास भएपनि नयाँ ग्राहकलाई “यो नियमित ग्राहकका लागि हो“ भन्दै फर्काउने गरिएको छ । उपभोक्ता अधिकारकर्मी विष्णुप्रसाद तिमिल्सिना यसलाई व्यापारीको दादागिरी र ’कार्टेलिङ’ भन्छन् । “पहिले आउनेले सेवा पाउनुपर्ने नियम कुल्चिएर व्यापारीले आफ्नो स्वार्थ अनुकूल ग्यास लुकाउने र महँगोमा बेच्ने गरेका छन्,“ उनले भने ।

बजारमा यति ठुलो बेथिति हुँदा पनि नियमनकारी निकाय वाणिज्य विभाग मौन छ । अधिकारकर्मीहरू यसलाई ’राज्य संरक्षित अपराध’ को संज्ञा दिन्छन् । यता नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे भने आपूर्ति सामान्य भइसकेको दाबी गर्छन् । उपभोक्ताले अभावको डरले अनावश्यक स्टक राखेका कारण बजारमा केही चाप देखिएको उनको तर्क छ ।

ग्यासजस्तो अत्यावश्यक वस्तुमा भइरहेको कालोबजारीले न्यून आय भएका नागरिकको चुलो प्रभावित भएको सरकारले प्रभावकारी अनुगमन गरी जथाभाबी मूल्य असुल्ने र बिल नदिने विक्रेतालाई कानुनी दायरामा ल्याउनु आवश्यक देखिन्छ ।

1

Scroll to Top