मुलुकको अर्थतन्त्र र राजनीतिक सरगर्मीबीच तालमेल मिलाउनुपर्ने दबाबमा रहेको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्ध–वार्षिक समीक्षाको अन्तिम तयारी गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको जिल्ला भ्रमण र आसन्न निर्वाचनको तयारीका कारण यसपटकको समीक्षा केही दिन पछाडि धकेलिएको छ । यसअघि माघ २५ गतेभित्रै समीक्षा सक्नेगरी अर्थमन्त्री खनालले कर्मचारी संयन्त्रलाई कडा निर्देशन दिएका थिए । तर, मन्त्री आफैँ निर्वाचन तयारी अनुगमनका लागि जिल्ला दौडाहामा निस्किएपछि अब माघ २७ वा २८ गते मात्रै समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिएको छ ।
बजेट कार्यान्वयनको प्रभावकारिता मापन गर्न र खर्चको प्राथमिकता निर्धारण गर्न माघ मसान्तभित्र अर्ध–वार्षिक समीक्षा गर्नुपर्ने कानुनी प्रावधान छ । सोही बमोजिम पुस महिनामै बजेट महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । कार्यदलले मन्त्रालयगत विवरण संकलन र खर्चको प्रवृत्ति विश्लेषण गरी प्रतिवेदन करिब तयार पारिसकेको छ । मन्त्रालय स्रोतका अनुसार, “मन्त्री ज्यू बाहिर हुनुभएकोले २५ गतेको समयसीमा टरेको हो, तर माघ मसान्तको संवैधानिक र कानुनी मर्मलाई ध्यान दिँदै २७–२८ गतेभित्रै प्रतिवेदन सार्वजनिक हुनेछ ।’’
जेठ १५ मा बजेट घोषणा गर्दाको र अहिलेको वस्तुस्थितिमा आकाश–पातालको फरक आएको छ । यो समीक्षा केवल अंकको जोड–घटाउ मात्र नभई बदलिएको परिस्थितिको सम्बोधन पनि हो ।
गत भदौ २३ र २४ गते भएको युवा आन्दोलनले सार्वजनिक भौतिक पूर्वाधारमा ठूलो क्षति पु¥याएको थियो । त्यसको पुनर्निर्माण र आन्दोलन पछिको सामाजिक मागलाई सम्बोधन गर्न बजेटको स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
आगामी फागुन २१ गते हुनलागेको प्रतिनिधि सभाको निर्वाचन सरकारको प्रमुख प्राथमिकतामा छ । निर्वाचनका लागि ठूलो वैधानिक खर्च आवश्यक पर्ने भएकाले अन्य विकास खर्चबाट कटौती गरेर भए पनि निर्वाचन कोषमा रकम सुनिश्चित गर्नुपर्ने दबाब अर्थ मन्त्रालयलाई छ । अर्थ मन्त्रालयले यसपटक बजेटको लक्ष्य र प्राथमिकतामा “व्यापक शल्यक्रिया’’ गर्ने संकेत गरेको छ । राजस्व संकलनमा देखिएको मन्दी र खर्चको असन्तुलनका कारण बजेटको आकार घटाउने तयारी भइरहेको छ ।
“अहिलेको राजस्व परिचालन र खर्चको गति हेर्दा १९ खर्बको लक्ष्य भेट्न असम्भव जस्तै छ । त्यसैले समीक्षा मार्फत बजेटको प्राथमिकता परिवर्तन र खर्च कटौतीको प्रस्ताव गरिँदैछ,’’ मन्त्रालयका एक अधिकारीले बताए । यसअघि नै चुनाव र पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई दिइएको कतिपय विनियोजन रोक्का गरिसकिएको छ । अबको समीक्षाले कुन आयोजनालाई निरन्तरता दिने र कुनलाई ‘होल्ड’ मा राख्ने भन्ने स्पष्ट खाका कोर्नेछ । चालु आर्थिक वर्षको आधा समय बितिसक्दा पनि सरकारी खर्च र आम्दानीको खाडल निकै गहिरो देखिएको छ ।
राजस्व र खर्चबीचको यो असन्तुलनले सरकारलाई आन्तरिक ऋण उठाउन वा वैदेशिक सहायतामा भर पर्न बाध्य बनाइरहेको छ । निष्कर्षमा, अर्थमन्त्री खनालको जिल्ला भ्रमण सकिएलगत्तै आउने यो समीक्षा प्रतिवेदनले आगामी ६ महिनाको अर्थतन्त्रको दिशा तय गर्नेछ । सरकारले कुल खर्च लक्ष्य १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ राखेको छ । जसमा हालसम्मको खर्च ७ खर्ब ७४ अर्ब २० करोड रहेको छ जुन खर्च ३९.४२ प्रतिशत हो । त्यस्तैगरी, पूँजीगत (विकास) विकास खर्चको अवस्था पनि निकै दयनीय छ । ४ खर्ब ७ अर्ब ८८ करोडको लक्ष्यमा माघ २४ सम्म मात्र ५९ अर्ब १० करोड रहेको छ । जुन खर्च लक्ष्यको १४.४९ प्रतिशत मात्र हो । राजस्वमा भने कुल लक्ष्यको १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेकोमा हाल ६ खर्ब ५९ अर्ब ८९ करोड ५५ लाख संकलन गरेको छ जुन लक्ष्यको ४३.३ प्रतिशत हो ।


