Banijya News

राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ अन्ततः फिर्ता

1
1.1K Shares

राष्ट्रिय सभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ अन्ततः फिर्ता गरिएको छ । सरकारको विधेयक फिर्ता गर्ने प्रस्तावलाई सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।
सभाको बैठकमा अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै राष्ट्रिय सभाबाट औपचारिक रूपमा विधेयक फिर्ता भएको घोषणा गरेका हुन् ।

यसअघि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेश गरेकी थिइन्।

राष्ट्रिय सभाले उक्त विधेयकलाई २०८२ भदौ १३ गते दफाबार छलफलका लागि समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए, जसले विधेयक निकै विवादास्पद बनेको थियो। आजको बैठकमा समितिकी सभापति दाहालले विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव तथा विभिन्न सरोकारवालासँग चरणबद्ध रूपमा अनौपचारिक छलफल गरिएको जानकारी गराइन्। तर छलफलबाट सहमति जुट्न नसकेपछि विधेयक फिर्ता गर्ने निर्णयमा सरकार पुगेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० गते विधेयक फिर्ता लिने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट माघ २१ गते राष्ट्रिय सभामा पत्राचार गरी विधेयक फिर्ताको प्रक्रिया अघि बढाइएको थियो। यसअघि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिन मन्त्रालयलाई स्वीकृति दिएको थियो। गत वर्ष राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक सामाजिक सञ्जाललाई अत्यधिक नियन्त्रण गर्ने प्रयास भएको भन्दै चर्को आलोचनामा परेको थियो। व्यापक विरोधपछि सरकारले विधेयक अगाडि बढाउन सकेको थिएन।

गत भदौमा सरकारले पुनः विधेयक अघि बढाउने प्रयास गरे पनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सुरु भएको ‘जेन–जी आन्दोलन’ र त्यसपछि भएको राजनीतिक घटनाक्रमका कारण विधेयक प्रक्रिया अवरुद्ध बनेको थियो। हाल नेपालमा सामाजिक सञ्जालसम्बन्धी छुट्टै र स्पष्ट कानुनी व्यवस्था छैन। विधेयक फिर्ता भएसँगै अब सरकारले सामाजिक सञ्जालको प्रयोग, नियमन र अभिव्यक्ति स्वतन्त्रताको सन्तुलन मिलाउने गरी नयाँ विधेयक ल्याउनुपर्ने आवश्यकता देखिएको छ।

1

Scroll to Top