जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटना र त्यससँग जोडिएका विवादित गतिविधिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले विस्तृत अध्ययन, प्रमाण संकलन र बयानका आधारमा तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको हो। उनले मूल प्रतिवेदन करिब नौ सय पृष्ठको रहेको र त्यससँग सम्बन्धित अनुसूचीहरू सहित कुल कागजात १० हजारभन्दा बढी पृष्ठ रहेको जानकारी दिए।
सरकारले भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा, दमन र युवाहरूको ज्यान जाने घटनाको सत्यतथ्य पत्ता लगाउन असोज ५ गते उक्त आयोग गठन गरेको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा केही युवाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।
आयोगले घटनाबारे विस्तृत अनुसन्धान गर्दै १५० भन्दा बढी सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, प्रत्यक्षदर्शी र आन्दोलनमा सहभागी व्यक्तिहरूसँग बयान लिएको जनाएको छ। ती बयान, उपलब्ध भिडियो तथा फोटो प्रमाण, घटनास्थलको अध्ययन र विभिन्न कागजातका आधारमा आयोगले निष्कर्ष तयार पारेको हो।
आयोगका प्रवक्ता शर्माले भदौ २३ र २४ को घटनामा संलग्न दोषी व्यक्तिहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरिएको बताए। तर उनले कस–कसलाई कारबाही गर्न सिफारिस गरिएको छ भन्नेबारे भने सार्वजनिक रूपमा खुलाउन चाहेनन्। उनका अनुसार प्रतिवेदन अब सरकारको आधिकारिक सम्पत्ति भएकाले त्यसलाई कसरी सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने भन्ने निर्णय सरकारको जिम्मेवारी हुनेछ।
प्रतिवेदन बुझाउने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीहरूलाई प्रवेश अनुमति दिइएको थिएन। आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिएपछि आयोगका सदस्यहरूले संक्षिप्त प्रतिक्रिया दिएका थिए।
जेनजी आन्दोलन भएको समय केपी शर्मा ओली नेतृत्वको सरकार सत्तामा थियो। त्यसबेला गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालेका थिए भने गृह सचिव गोकर्णमणि दुवाडी थिए। नेपाल प्रहरीको नेतृत्व आईजीपी चन्द्रकुवेर खापुङले गरिरहेका थिए भने काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल थिए। आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोग र प्रदर्शनकारीको हिंसात्मक गतिविधिबारे व्यापक विवाद उत्पन्न भएको थियो।
त्यसपछि सुशीला कार्की नेतृत्वमा नयाँ सरकार गठन भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगलाई सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको थियो। तर अनुसन्धानको दायरा फराकिलो भएको भन्दै आयोगको म्याद पटक–पटक थपिएको थियो।
सरकारले आयोगको म्याद बढाएर फागुन २४ सम्म पु¥याएको थियो, जसअनुसार करिब छ महिनाको अनुसन्धानपछि प्रतिवेदन तयार भएको हो। निर्वाचनअघि नै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग विभिन्न पक्षबाट उठे पनि सरकारले आयोगको समय थपेर अनुसन्धान पूरा गर्न दिएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। यद्यपि प्रतिवेदन सार्वजनिक गर्न मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय गर्नुपर्ने प्रक्रिया रहेको बताइएको छ। अब सरकारको निर्णयपछि प्रतिवेदन सार्वजनिक हुने र त्यसका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।


