Banijya News

सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

1
1.1K Shares

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट नेतृत्व हस्तान्तरण भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यसै अवसरमा नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।

बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । अध्यक्ष उप्रेतीले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।

साथै, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । नाडाले आगामी दिनहरूमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

1

Scroll to Top