Banijya News

धनकुटा अस्पताल : इतिहास जोगाउँदै विकासको सही बाटो रोजौँ

1
1.5K Shares

लोकेन्द्र श्रेष्ठ “ईश्वर

धनकुटामा मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत टिचिङ अस्पताल स्थापना गर्ने विषय यतिबेला व्यापक बहसको केन्द्रमा पुगेको छ। स्वास्थ्यकर्मी उत्पादन, गुणस्तरीय उपचार सेवा विस्तार र पूर्वी नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने दृष्टिले यस्तो पहल सकारात्मक र आवश्यक पनि छ। तर विकासको नाममा इतिहासलाई विस्थापित गर्ने सोच भने न त दीर्घकालीन रूपमा उचित हुन्छ, न त सामाजिक रूपमा स्वीकार्य।

धनकुटा केवल एउटा जिल्ला मात्र होइन—यो पूर्वाञ्चलको ऐतिहासिक केन्द्र हो। विगतमा पूर्वाञ्चलको सदरमुकामका रूपमा रहँदा यसले १६ वटै पहाडी जिल्लाको प्रशासनिक, शैक्षिक र स्वास्थ्य केन्द्रका रूपमा भूमिका खेलेको थियो। भौगोलिक, सामाजिक र संरचनागत हिसाबले समेत धनकुटा पूर्वका लागि अत्यन्त उपयुक्त “केन्द्रबिन्दु” हो। तर बहुदल आगमनपछि क्रमशः ठूला राजनीतिक निर्णयहरूका कारण धेरै क्षेत्रीय कार्यालयहरू अन्य जिल्लातर्फ सारिँदै गए। त्यसको परिणामस्वरूप आज धनकुटामा रहेका थुप्रै सरकारी भवन र जग्गाहरू प्रयोगविहीन भई खण्डहरजस्तै अवस्थामा पुगेका छन्।

यही सन्दर्भमा टिचिङ अस्पताल स्थापना गर्ने प्रस्तावलाई हामीले अवसरका रूपमा लिनुपर्छ—तर सही ढंगले।

धनकुटा अस्पताल हाम्रो सामूहिक स्मृति र पहिचानसँग गाँसिएको संस्था हो। चन्द्र शमशेरको शासनकालमा वि.सं. १९७० सालतिर स्थापना भएको यो अस्पताल सुरुमा “त्रिचन्द्र अस्पताल” का रूपमा सञ्चालनमा आएको थियो। एक शताब्दीभन्दा बढी—आज करिब १११ वर्ष पार गरिसकेको यस संस्थाले पूर्वी नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक भूमिका निर्वाह गरेको छ। यो केवल उपचार केन्द्र मात्र होइन, पुस्तौँको भरोसा, इतिहासको निरन्तरता र स्थानीय अस्मिताको प्रतीक हो। यसलाई १०० वर्षभन्दा पुरानो सम्पदा (हेरिटेज) संस्थाका रूपमा संरक्षण गर्नुपर्छ।

अहिले उठाइएको प्रस्तावको मूल मर्म—टिचिङ अस्पताल स्थापना—स्वागतयोग्य छ। तर यसका लागि धनकुटा अस्पताललाई गाभ्ने, नाम परिवर्तन गर्ने वा स्वामित्व हस्तान्तरण गर्ने धारणा गम्भीर चिन्ताको विषय हो। कुनै पनि ऐतिहासिक संस्थाको पहिचान मेटाएर नयाँ संरचना खडा गर्नु विकास होइन, त्यो त विगतप्रति अन्याय हो।

विकासको सही दर्शन भनेको पुरानो मेटेर नयाँ बनाउनु होइन, बरु इतिहास जोगाउँदै आधुनिकता थप्नु हो। धनकुटामा टिचिङ अस्पताल खोल्नैपर्छ—तर छुट्टै।

धनकुटामा उपलब्ध प्रयोगविहीन सरकारी भवन, जग्गा र पूर्वाधारलाई सदुपयोग गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत आधुनिक टिचिङ अस्पताल स्थापना गर्न सकिन्छ। मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार—क्लासरूम, प्रयोगशाला, होस्टेल, शिक्षण अस्पताल—सबैका लागि पर्याप्त स्थान त्यहीँ व्यवस्थापन गर्न सकिने अवस्था छ। यसले न केवल स्वास्थ्य सेवा सुधार्छ, बरु एमबीबीएस लगायतका स्वास्थ्यकर्मी उत्पादनमार्फत पूर्वका सम्पूर्ण पहाडी जिल्लाहरूलाई दीर्घकालीन लाभ पुर्‍याउँछ।

अर्कोतर्फ, धनकुटा अस्पताललाई आफ्नै स्वामित्व र पहिचानमा राख्दै समयानुकूल स्तरोन्नति गर्नु अत्यावश्यक छ। सरकारी मापदण्डअनुसार कम्तीमा १०० शय्याको सुदृढ संरचना, विशेषज्ञ सेवा—बालरोग, स्त्रीरोग, मानसिक स्वास्थ्य, फिजिसियन, हाडजोर्नी तथा नाक–कान–घाँटी—उपलब्ध गराइनुपर्छ।

यसका साथै, क्याान्सर यूनिट, मुटु यूनिट (कार्डियो) सेवा, किड्नी यूनिट (डायलिसिस सहित) सेवा, स्थापना गरी सेवा विस्तार गर्नुपर्छ। साथै क्यान्सर, मुटु र किड्नी जस्ता नसर्ने रोगका लागि आवश्यक सेवा विस्तार गर्दै हालको १०० बेडलाई थप विस्तार गरी २०० बेडमा रूपान्तरण गर्नु आवश्यक छ।

यस सन्दर्भमा सहकार्य मोडल अपनाउनुपर्छ। राष्ट्रिय स्तरका क्यान्सर, मुटु र किड्नी अस्पतालहरूसँग सहकार्य गर्दै सेवा विस्तार गर्न सकिन्छ। नयाँ टिचिङ अस्पताल र पुरानो धनकुटा अस्पताललाई प्रतिस्पर्धी होइन, परस्पर पूरक संस्थाका रूपमा विकास गर्नुपर्छ।

यसरी अघि बढ्दा धनकुटाले सन्तुलित विकासको उत्कृष्ट उदाहरण प्रस्तुत गर्न सक्छ— जहाँ इतिहास पनि जोगिन्छ र भविष्य पनि निर्माण हुन्छ। अन्ततः, प्रश्न केवल एउटा अस्पतालको होइन— यो हाम्रो पहिचान, स्वाभिमान र दूरदृष्टिको प्रश्न हो।

त्यसैले आजको स्पष्ट सन्देश हुनुपर्छ: मनमोहन टिचिङ अस्पताल खोलौँ, तर धनकुटा अस्पताललाई आफ्नै पहिचानमा जोगाऔँ। किनकि इतिहास मेटेर बनाइएको विकास कहिल्यै दिगो हुँदैन।
(लेखक : धनकुटा निवासी समाजसेवी तथा क्यान्सर अभियानकर्मी हुन् । साथै, भक्तपुर क्यान्सर अस्पतालमन पूर्व अध्यक्ष हुन्)

1

Scroll to Top