मंगलबार निधन भएका कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदैछ। त्यस अघि पार्टी कार्यालयमा विहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने छ ।
क्यान्सर पीडित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी त्यसअघि २०४८ र २०५६ र २०६४ मा स्याङ्जाबाटै विजयी भएका थिए।
उनले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित शिक्षा, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका उनी २०१७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय थिए।
श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२-६३ को दोस्रो जनआन्दोलनका सक्रिय रूपमा सहभागी थिए।


