नयाँ जनादेशसँगै देशमा नयाँ सरकार गठनको बहस तीव्र बन्दै गएको छ । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलका रूपमा उदाएसँगै अब बन्ने सरकारको नेतृत्व पनि रास्वपाले गर्ने लगभग निश्चित भएको छ । पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने तयारीमा रहेको चर्चा चलिरहँदा उनले कस्तो मन्त्रिपरिषद् बनाउने भन्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ ।
निर्वाचनअघि रास्वपाले शासन प्रणालीमा सुधार, खर्च कटौती तथा प्रभावकारी प्रशासनिक संरचनाको पक्षमा आवाज उठाउँदै आएको थियो । यही सन्दर्भमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाहले मन्त्रालयको संख्या घटाएर कार्यक्षमता बढाउने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ । तर, पार्टीभित्र भने मन्त्रालयको संरचना र संख्या सम्बन्धी विषयमा फरक धारणा देखिन थालेको छ ।
निर्वाचन सम्पन्न भएपछि बालेनले सार्वजनिक रूपमा धेरै प्रतिक्रिया दिएका छैनन् । उनले चुनावी अभियानका क्रममा आफू प्रधानमन्त्री बनेमा दक्ष र परिणाममुखी टीम बनाएर काम गर्ने बताएका थिए । तर परिणाम सार्वजनिक भइसकेपछि भने उनी औपचारिक रूपमा धेरै नबोलेको देखिन्छ । रास्वपाले निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, पार्टीको नीति तथा आगामी रणनीतिका विषयमा छलफल गर्न आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा समेत बालेन उपस्थित भएका थिएनन् ।
यद्यपि पार्टी स्रोतका अनुसार बालेन यतिबेला आगामी मन्त्रिपरिषद् गठनको गृहकार्यमा व्यस्त छन् । सरकार गठनअघि प्रशासनिक संरचना, मन्त्रालयको जिम्मेवारी र कामको स्पष्ट विभाजन गर्ने उद्देश्यले उनले विभिन्न विकल्पहरूबारे अध्ययन गरिरहेका छन् ।
यसबीचमा रास्वपाका शीर्ष नेताहरूबीच पनि परामर्श चलिरहेको छ । बरिष्ठ नेता बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल तथा अर्का उपसभापति स्वर्णीम वाग्लेबीच छलफल भइरहेको तस्बिरहरू सार्वजनिक भएका छन् । ती तस्बिरहरूले पार्टीभित्र सरकार गठनबारे गम्भीर तयारी भइरहेको संकेत गरेका छन् ।
प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाहले हाल कायम रहेको मन्त्रालय संरचनालाई परिमार्जन गर्दै १६ मन्त्रालयको मन्त्रिपरिषद् बनाउने प्रस्ताव अघि सारेका छन् । उनका अनुसार केही मन्त्रालय यथावत राख्दै केही मन्त्रालयहरूलाई आपसमा गाभेर सानो तर प्रभावकारी मन्त्रिपरिषद् बनाउने तयारी गरिएको हो ।
उनको प्रस्तावअनुसार हालको प्रधानमन्त्री कार्यालयलाई ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’का रूपमा राख्ने योजना छ । त्यस्तै साविकको गृह मन्त्रालय र आन्तरिक सुरक्षा तथा प्रशासनसँग सम्बन्धित संरचनालाई एकीकृत गर्दै ‘गृहमन्त्रालय’कै रूपमा सञ्चालन गर्ने सुझाव उनले दिएका छन् ।
आर्थिक नीतिको समन्वयलाई प्रभावकारी बनाउन उनले साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई एकीकृत गर्ने प्रस्ताव गरेका छन् । यसअनुसार ‘अर्थ, योजना तथा विकास मन्त्रालय’ गठन गरेर बजेट, योजना र विकास कार्यक्रमलाई एउटै संरचनाबाट सञ्चालन गर्ने सोच राखिएको छ ।
विदेश नीति र सुरक्षा नीतिका विषयमा भने उनले हालको संरचनालाई यथावत राख्ने प्रस्ताव गरेका छन् । त्यसअनुसार परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालय अहिलेको स्वरूपमै रहनेछन् ।
शिक्षा क्षेत्रको पुनर्संरचनाका लागि उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई मिलाएर ‘शिक्षा, युवा तथा खेलकुद मन्त्रालय’ बनाउने प्रस्ताव गरेका छन् । यसले युवा नीति, खेलकुद विकास र शिक्षालाई एउटै संरचनाबाट अघि बढाउन सहज हुने उनको तर्क रहेको स्रोतले जनाएको छ ।
स्वास्थ्य र सामाजिक सुरक्षाका कार्यक्रमलाई समेट्ने गरी उनले ‘स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय’ गठन गर्ने सुझाव दिएका छन् । यस मन्त्रालयअन्तर्गत साविकका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई गाभ्ने प्रस्ताव गरिएको छ ।
भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरूमा भने ठूलो परिवर्तन नगर्ने योजना रहेको बताइन्छ । उनका अनुसार ‘भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय’ यथावत रहनेछ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि अहिलेको संरचनामै सञ्चालन हुने प्रस्ताव गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने उनले नयाँ ढंगले पुनर्संरचना गर्ने सोच अघि सारेका छन् । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयको कार्यक्षेत्रलाई थप व्यवस्थित बनाउने विषयमा अध्ययन भइरहेको बताइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय भने अहिलेको स्वरूपमै राख्ने प्रस्ताव गरिएको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गाभेर ‘उद्योग, श्रम तथा आपूर्ति मन्त्रालय’ बनाउने सुझाव बालेन्द्रले दिएका छन् ।
यसैगरी साविकको वन तथा वातावरण मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयलाई एकीकृत गर्दै ‘वन, वातावरण तथा प्राकृतिक स्रोत मन्त्रालय’ बनाउने प्रस्ताव गरिएको छ । प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय व्यवस्थापन र पानीको दिगो उपयोगलाई एउटै नीतिगत ढाँचामा समेट्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
कानुनी र प्रशासनिक क्षेत्रमा भने आंशिक परिवर्तन प्रस्ताव गरिएको छ । साविकको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राख्ने तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गाभेर ‘सार्वजनिक सेवा तथा सञ्चार मन्त्रालय’ बनाउने प्रस्ताव अघि सारिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने हालकै स्वरूपमा रहने बताइएको छ । पर्यटन क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउने योजना भएकाले मन्त्रालयको संरचना परिवर्तन नगर्ने सोच रहेको स्रोतको भनाइ छ ।
बालेन्द्र शाहले प्रस्ताव गरेको संरचनाअनुसार कुल १६ मन्त्रालय रहनेछन् । उनी प्रधानमन्त्रीको शपथ लिने दिनमै सबै मन्त्रीलाई पनि एकसाथ शपथ गराउने तयारीमा रहेको बताइएको छ । उनका अनुसार आगामी १३ गते हुने सम्भावित शपथग्रहण समारोहमा पूर्ण मन्त्रिपरिषद् गठन गर्ने लक्ष्य राखिएको छ ।
तर रास्वपाभित्र भने मन्त्रालयको संख्या घटाउने विषयमा पूर्ण सहमति बनिसकेको छैन । पार्टी सभापति रवि लामिछानेले भने यसअघि भएको छलफल र समझदारीअनुसार १८ मन्त्रालयकै संरचनामा सरकार गठन गर्नुपर्ने अडान राखेका छन् ।
लामिछानेको धारणा अनुसार मन्त्रालयको संख्या घटाउने विषयमा थप अध्ययन र व्यापक सहमति आवश्यक छ । उनले अहिलेको अवस्थामा स्थापित संरचनालाई नै आधार बनाएर सरकार सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् ।
यसरी मन्त्रालयको संख्या र संरचनालाई लिएर रास्वपाभित्र दुई फरक दृष्टिकोण देखिएको छ । एकातर्फ बालेन्द्र शाह सानो तर प्रभावकारी मन्त्रिपरिषद्को पक्षमा छन् भने अर्कोतर्फ सभापति रवि लामिछाने हालको संरचनालाई कायम राख्दै सरकार गठन गर्नुपर्ने मत राखिरहेका छन् ।
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय)
२. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन)
३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग)
४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय)
५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय)
६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय)
७. स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय (स्वास्थ्य, जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)
८. भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय (साविकको भौतिक पूर्वाधार, यातायात र शहरी विकास )
९. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (साविकको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय)
१०. कृषि तथा पशुपन्छी विकास मन्त्रालय (साविकको कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
११. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (साविकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण)
१२. उद्योग, श्रम तथा आपूर्ति मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा)
१३. वन, वातावरण तथा प्राकृतिक स्रोत मन्त्रालय (साविकको वन तथा वातावरण र खानेपानी तथा सरसफाइ)
१४. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (साविकको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय)
१५. सार्वजनिक सेवा तथा सञ्चार मन्त्रालय (सञ्चार तथा सूचना प्रविधि र संघीय मामिला तथा सामान्य प्रशासन)
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (साविकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)


