बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन राजनीतिक कारणले शेयर बजार ओरालो दिशामा गएको छ । बालेन नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि एमालेले देशव्यापी प्रदर्शन सुरु गरेको छ । आन्दोलनका कारण जनजीवन अस्तव्यस्त भई लगानीको माहौल बिग्रिने र त्यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने आँकलनमा लगानीकर्ताहरु डराउँदा बजार ओरालो लागेको हो । यसका अलावा चैत मसान्तमा ब्याज तिर्नुपर्ने दवाबमा लगानीकर्ता हुँदा पनि बजार ओरालो दिशामा गएको हो । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता उल्लेख्य रुपमा बढेको बजार यो साताको पहिले दिन नै २ प्रतिशत भन्दा बढीले घटेर कारोबार बन्द भएको हो ।
नयाँ सरकार बनेपछि बजारमा सकारात्मक अवस्था देखिने आशाका बीचमा सेयर बजारमा ७१.०५ अंकको गिरावट आएको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८७९.११ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार दिनको भन्दा २.४० प्रतिशतले कम हो । सेयर बजारमा उच्च अंकको गिरावट आएको दिन १५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा २५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ । आज १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १ लाख ९६ हजार १५८ पटक खरिद बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक उच्च अंकले घटे पनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


