प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी संरचना सुधारको अभियानलाई तीव्रता दिँदै ३० वटा सार्वजनिक निकाय खारेज गर्ने, केहीलाई गाभ्ने तथा केहीलाई प्रदेश वा सम्बन्धित निकायमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले लामो समयदेखि राजनीतिक नियुक्तिको माध्यम बनेका र अपेक्षित काम गर्न नसकेका निकायहरूलाई पुनर्संरचना गर्ने निर्णय गर्दै प्रशासनिक खर्च घटाउने र सुशासन प्रवद्र्धन गर्ने लक्ष्य अघि सारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विगतमा गठित विभिन्न अध्ययन आयोग र कार्यदलहरूले दिएका सुझावका आधारमा सरकारले यस्तो कदम चालेको हो ।
सरकारले विभिन्न समिति, बोर्ड, केन्द्र, कोष, परियोजना तथा कार्यक्रमको नाममा स्थापना गरिएका तर प्रभावकारी रूपमा काम नगरेका संरचनाहरूलाई व्यवस्थित गर्ने निर्णय गरेको जनाएको छ । यस्ता निकायहरू धेरैजसो अवस्थामा राजनीतिक पहुँच भएका व्यक्तिहरूलाई नियुक्ति दिने माध्यम बनेको भन्दै आलोचना हुँदै आएको थियो । सरकारले यस्ता निकायहरू हटाउने वा पुनर्संरचना गर्ने प्रक्रियाबाट राज्यको वार्षिक खर्चमा उल्लेख्य कमी आउने विश्वास व्यक्त गरेको छ । सरकारी स्रोतका अनुसार यी संस्थाहरू सञ्चालन गर्न तलब, भत्ता र अन्य प्रशासनिक खर्चमा वर्षेनी अर्बौं रुपैयाँ खर्च हुँदै आएको थियो ।
सरकारको निर्णयअनुसार केही निकायहरू पूर्ण रूपमा खारेज हुने भएका छन् । खारेज हुने सूचीमा श्रम क्षेत्रसँग सम्बन्धित न्यूनतम पारिश्रमिक निर्धारण समिति पनि परेको छ । यो समिति २०५१ सालमा ऐनमार्फत गठन गरिएको भए पनि हालसम्म प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । त्यस्तै निर्वाचनको समयमा मात्र सक्रिय हुने जिल्ला निर्वाचन कार्यालयहरूलाई पनि खारेज गर्ने तयारी गरिएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, नेपाल रेल्वे बोर्ड, शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण लगायतका संस्थाहरू पनि खारेजीको सूचीमा परेका छन् ।
शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना भएको तीन वर्ष बितिसक्दा पनि अपेक्षित काम हुन नसकेको भन्दै सरकारले यसलाई खारेज गर्ने निर्णय गरेको हो। सरकारी स्रोतका अनुसार यो संस्था स्थापना भएदेखि कर्मचारी व्यवस्थापन र प्रशासनिक खर्चबाहेक उल्लेखनीय काम हुन सकेको थिएन। यसैगरी नगर विकास समितिहरूलाई पनि खारेज गर्ने तयारी गरिएको छ। सरकारले स्थानीय तहको संरचना बलियो भइसकेको भन्दै नगर विकाससम्बन्धी काम अब स्थानीय सरकारमार्फत सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो।
सरकारले केही संस्थाहरूलाई भने एकीकृत गर्ने योजना बनाएको छ। समान प्रकृतिका काम गर्ने निकायहरूलाई गाभेर प्रशासनिक खर्च घटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा समायोजन गर्ने निर्णय गरिएको छ। त्यस्तै मुद्रण विभाग, कानुन किताब व्यवस्था समिति र सुरक्षण मुद्रण विकास समितिलाई एकीकृत गरी सुरक्षण मुद्रण केन्द्रअन्तर्गत ल्याउने तयारी गरिएको छ।
यातायात क्षेत्रका संरचनाहरूमा पनि पुनर्संरचना हुने भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्ने प्रस्ताव अघि बढाइएको छ। न्याय क्षेत्रसँग सम्बन्धित सेवा तालिम केन्द्रलाई न्यायिक प्रतिष्ठानमा समायोजन गर्ने तयारी गरिएको छ भने केन्द्रीय कानुन पुस्तकालय विकास समितिलाई राष्ट्रिय पुस्तकालयअन्तर्गत ल्याइने भएको छ।
सरकारले स्वरोजगार र उद्यमशीलता प्रवद्र्धनका लागि सञ्चालित विभिन्न कोषहरूलाई पनि एकीकृत गर्ने निर्णय गरेको छ। हाल सञ्चालनमा रहेका युवा तथा साना व्यवसायी स्वरोजगार कोष, महिला स्वावलम्बन कोष र स्टार्टअप उद्यम कर्जा कोषअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरूलाई एकीकृत गर्दै ‘राष्ट्रिय उद्यमशीलता तथा स्वरोजगार कोष’ गठन गर्ने योजना अघि सारिएको छ। यसबाट स्वरोजगारसम्बन्धी कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न सहज हुने सरकारको अपेक्षा रहेको छ।
केही कार्यक्रम र संस्थाहरूलाई भने प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी गरिएको छ। २२ जिल्लामा सञ्चालन भइरहेको तराई मधेस समृद्धि कार्यक्रमलाई सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ। अघिल्ला सरकारहरूले पनि यस्तो प्रयास गरेका भए पनि विभिन्न कारणले कार्यान्वयन हुन सकेको थिएन। अहिलेको सरकारले भने यसलाई व्यवहारमा उतार्ने तयारी गरेको छ।
त्यसैगरी राष्ट्रिय चुरे संरक्षण समितिअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरू र वनस्पति अनुसन्धान केन्द्रहरूलाई पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ। इलाम, धनुषा, मकवानपुर, बाँके, सल्यान, जुम्ला र कैलालीमा रहेका वनस्पति अनुसन्धान केन्द्रहरू अब प्रदेशस्तरबाट सञ्चालन हुने सम्भावना रहेको छ। यसले प्रदेश सरकारलाई अनुसन्धान तथा संरक्षणसम्बन्धी काममा थप जिम्मेवारी दिने अपेक्षा गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रसँग सम्बन्धित केही परियोजनाहरू पनि पुनर्संरचनामा पर्ने भएका छन्। विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा रहेका पशुपक्षी रोग अन्वेषण परियोजनाहरूलाई संघीय सिँचाइ कार्यालय तथा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने योजना अघि बढाइएको छ। त्यस्तै विभिन्न सिँचाइ आयोजनाहरूलाई पनि प्रदेश र संघीय संरचनाअनुसार पुनः व्यवस्थापन गर्ने तयारी गरिएको छ।
सरकारले पर्यटन तथा नदी संरक्षणसँग सम्बन्धित केही कार्यक्रमहरू पनि प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ। जनताको तटबन्ध कार्यक्रम तथा विभिन्न पर्यटन संरक्षण तथा विकास समितिहरूलाई सम्बन्धित प्रदेश वा स्थानीय तहबाट सञ्चालन हुने गरी व्यवस्थापन गरिने भएको छ। यसबाट स्थानीय आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
सरकारको भनाइ अनुसार लामो समयदेखि निष्क्रिय वा कम प्रभावकारी रहेका यस्ता निकायहरूमा झण्डै एक हजार हाराहारी कर्मचारी कार्यरत रहेका छन्। यी कर्मचारीहरू तलब, भत्ता र अन्य सुविधा मात्र लिने तर उल्लेखनीय काम नगर्ने अवस्थाबारे विभिन्न अध्ययन प्रतिवेदनहरूमा उल्लेख गरिएको थियो। सरकारले संरचना पुनर्संरचना गरेपछि त्यहाँ कार्यरत कर्मचारीलाई अवकाश, समायोजन वा अन्य निकायमा व्यवस्थापन गर्ने विकल्प खुल्ने बताइएको छ।
सरकारले यो निर्णय कुनै अचानक कदम नभई विगतका विभिन्न अध्ययन र सुझावका आधारमा लिएको स्पष्ट पारेको छ। सन् २०७५ मा डा. डिल्लीराज खनालको संयोजकत्वमा गठन गरिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले यस्ता धेरै निकाय खारेज वा गाभ्न सिफारिस गरेको थियो। त्यस्तै पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठित अध्ययन समितिले पनि समान प्रकृतिका काम गर्ने संस्थाहरूलाई एकीकृत गर्नुपर्ने सुझाव दिएको थियो।
यसैगरी २०८१ सालमा पूर्वगृहमन्त्री तथा अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि सरकारी संरचनालाई सानो, प्रभावकारी र परिणाममुखी बनाउने सिफारिस गरेको थियो। हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले पनि अघिल्ला अध्ययन प्रतिवेदनहरूलाई कार्यान्वयनमा ल्याउनुपर्ने निष्कर्षसहित सरकारलाई मार्गचित्र बुझाएको थियो।
सरकारले यसलाई सुशासन मार्गचित्र २०८२ को कार्यान्वयनसँग पनि जोडेको छ। प्रशासनिक संरचना सरल बनाउने, अनावश्यक खर्च घटाउने र सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ यो अभियान अघि बढाइएको बताइएको छ। साथै श्रम स्वीकृति प्रणाली र वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) प्रणालीमा पनि सुधार गर्दै केही प्रक्रियाहरू हटाउने तयारी भइरहेको जनाइएको छ।
सरकारको यो कदमले प्रशासनिक संरचना सुधार, खर्च नियन्त्रण र सुशासन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि यसको कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय भने आगामी दिनहरूमा देखिनेछ। सरकारले भने राजनीतिक नियुक्तिको परम्परालाई घटाउँदै राज्य संरचनालाई व्यवस्थित बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको दाबी गरेको छ।
खारेज हुने
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति
न्यूनतम पारिश्रमिक निर्धारण समिति
नेपाल रेल्वे बोर्ड
शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण
जग्गा विकास चक्र कोष
नगर विकास समितिहरू
बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना
बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना
सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना
राष्ट्रिय दुग्ध विकास बोर्ड
जिल्ला निर्वाचन कार्यालयहरू
श्रम स्वीकृति प्रणाली
वैदेशिक अध्ययनका लागि चाहिने एनओसी
प्रदेशमा हस्तान्तरण
तराई मधेस समृद्धि कार्यक्रम
राष्ट्रिय चुरे संरक्षण समिति
वनस्पति अनुसन्धान केन्द्र
पशुपक्षी रोग अन्वेषण परियोजना
विभिन्न सिँचाइ आयोजनाहरू
जनताको तटबन्ध कार्यक्रम
पर्यटन संरक्षण/विकास समितिहरू


