Banijya News

धान्नै नसक्ने सामाजिक सुरक्षा भत्ता व्यवस्थापनमा सुधारको प्रस्ताव : उमेर सीमा ७५ वर्ष सिफारिस

1
1.1K Shares

सरकारलाई सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा दिगो बनाउन सुझाव दिँदै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उमेर ७५ वर्ष पु¥याउन सिफारिस गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो प्रस्ताव गरिएको हो। मार्गचित्रमा सामाजिक सुरक्षामा बढ्दो आर्थिक भारलाई व्यवस्थित गर्न विभिन्न सुधारात्मक उपायहरूको आवश्यकता औंल्याउँदै भत्ता वितरण प्रणालीलाई पुनरावलोकन गर्नुपर्ने उल्लेख गरिएको छ।

उक्त मार्गचित्रमा सामाजिक सुरक्षा भत्ता वितरणको वर्तमान संरचना दीर्घकालीन रूपमा राज्यको वित्तीय क्षमतासँग सन्तुलित हुनुपर्नेमा जोड दिइएको छ। सोही आधारमा वृद्धभत्ता प्राप्त गर्ने उमेरलाई चरणबद्ध रूपमा बढाउँदै ७५ वर्ष पु¥याउन सिफारिस गरिएको हो। मार्गचित्रका अनुसार वृद्धजनलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रमको उद्देश्य कायम राख्दै राज्यको आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापन गर्न यस्तो कदम आवश्यक देखिएको बताइएको छ।

नेपालमा वृद्धभत्ता कार्यक्रम सामाजिक सुरक्षाको प्रमुख अङ्गका रूपमा सञ्चालन हुँदै आएको छ। समयक्रमसँगै यसमा प्राप्त गर्ने उमेर सीमा तथा भत्ता रकममा विभिन्न परिवर्तन हुँदै आएका छन्। हाल सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता प्राप्त गर्ने उमेर ७० वर्ष कायम गरेको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनअघि पनि वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै थियो। तर त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सामाजिक सुरक्षा विस्तार गर्ने उद्देश्यले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

उमेर घटाएर भत्ता उपलब्ध गराउने निर्णयपछि सामाजिक सुरक्षा कार्यक्रमको खर्च उल्लेख्य रूपमा बढेको थियो। त्यसले राज्यको वित्तीय दायित्वमा थप दबाब सिर्जना गरेको भन्दै विभिन्न अध्ययन तथा आयोगहरूले भत्ता प्राप्त गर्ने उमेर पुनः बढाउन सुझाव दिएका थिए। यसै सन्दर्भमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि सामाजिक सुरक्षा कार्यक्रमको दीर्घकालीन दिगोपन कायम गर्न उमेर सीमा बढाउनुपर्ने सुझाव दिएको थियो। यद्यपि सरकारले तत्कालका लागि चालू आर्थिक वर्षदेखि पुनः ७० वर्ष कायम गर्ने निर्णय गरेको थियो।

नयाँ सुशासन मार्गचित्रले भने भविष्यलाई लक्षित गर्दै सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउने उपायहरू अघि सारेको छ। मार्गचित्रमा सामाजिक सुरक्षा कार्यक्रमहरूलाई मध्यकालीन खर्च संरचना (ःभमष्गm त्भचm भ्हउभलमष्तगचभ ँचबmभधयचप) अन्तर्गत व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ। यसले सामाजिक सुरक्षा कार्यक्रमलाई योजनाबद्ध र वित्तीय रूपमा सन्तुलित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मार्गचित्रले नगद भत्तामात्र सामाजिक सुरक्षाको एकमात्र माध्यम हुन नसक्ने पनि औंल्याएको छ। त्यसैले नगद वितरणसँगै स्वास्थ्य सुरक्षालाई पनि सामाजिक सुरक्षा प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने सुझाव दिइएको छ। विशेष गरी स्वास्थ्य बीमा कार्यक्रममा सरकारले अनुदान दिने व्यवस्था बढाएर नागरिकलाई बीमा प्रणालीमा सहभागी गराउनुपर्ने मार्गचित्रमा उल्लेख गरिएको छ। यसरी स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको अनिवार्य अङ्गका रूपमा विकास गर्न सके नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

सामाजिक सुरक्षामा खर्च बढ्दै गएको तथ्यांकले पनि सुधारको आवश्यकता देखाएको छ। चालू आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारले कुल १५ खर्ब ८ अर्ब रुपैयाँ बराबरको बजेट खर्चको लक्ष्य राखेको छ। यसमध्ये सामाजिक सुरक्षा तथा संरक्षणसम्बन्धी कार्यक्रमका लागि मात्रै करिब २ खर्ब ९८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यो रकम सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा अनुदान, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारी योगदान, विपद् राहत तथा निवृत्तिभरण लक्षित सामाजिक सहायता कार्यक्रमका लागि छुट्याइएको हो।

सरकारी तथ्यांकअनुसार सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरूमा खर्च हुने रकम कुल बजेटको २० प्रतिशतभन्दा बढी पुगेको छ। यस्तो खर्चको आकार निरन्तर बढ्दै जाँदा राज्यको वित्तीय व्यवस्थापनमा चुनौती थपिने देखिएको भन्दै सुधारका उपाय खोज्नुपर्ने अवस्था आएको विज्ञहरू बताउँछन्। विशेषगरी जनसंख्या वृद्धिदर, आयु वृद्धि तथा सामाजिक सुरक्षाको दायरा विस्तार भइरहँदा आगामी वर्षहरूमा यस्तो खर्च अझ बढ्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार सामाजिक सुरक्षा कार्यक्रमलाई पूर्ण रूपमा हटाउनु सम्भव र उचित नभए पनि यसको संरचनामा सुधार गर्न आवश्यक हुन्छ। लक्षित समूहलाई प्राथमिकता दिने, सेवा र सुविधाको प्रभावकारिता बढाउने तथा राज्यको वित्तीय क्षमतासँग मिल्दो ढाँचामा कार्यक्रम सञ्चालन गर्ने उपायहरू आवश्यक हुने उनीहरूको धारणा छ। यही कारणले सुशासन मार्गचित्रले नगद भत्ता वितरणलाई मात्र केन्द्रमा नराखी सामाजिक सुरक्षाका अन्य माध्यमहरूलाई पनि सुदृढ गर्नुपर्ने सुझाव दिएको हो।

मार्गचित्रले सामाजिक सुरक्षालाई दीर्घकालीन रणनीतिसँग जोडेर हेर्नुपर्ने पनि उल्लेख गरेको छ। यसमा वृद्धभत्ता मात्र नभई स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूलाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्ने विचार प्रस्तुत गरिएको छ। यसले सामाजिक सुरक्षा प्रणालीलाई समग्र रूपमा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सरकारले आगामी दिनमा सामाजिक सुरक्षा प्रणालीमा सुधार ल्याउने विषयमा विस्तृत छलफल गर्ने संकेत दिएको छ। मार्गचित्रमा गरिएको सिफारिस तत्काल कार्यान्वयन गर्ने वा चरणबद्ध रूपमा लागू गर्ने विषयमा सरकार र सम्बन्धित निकायबीच थप अध्ययन तथा निर्णय आवश्यक हुने देखिन्छ। तर सामाजिक सुरक्षामा बढ्दो खर्च व्यवस्थापन गर्ने उपाय खोज्नुपर्ने आवश्यकता भने स्पष्ट रूपमा देखिएको छ।

यसैबीच सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारले प्रविधिको प्रयोग बढाउने, लाभग्राहीको अभिलेख व्यवस्थित गर्ने र दोहोरो सुविधा रोक्ने उपायहरू पनि अघि बढाउने तयारी गरेको जनाइएको छ। यसले सामाजिक सुरक्षा कार्यक्रमको पारदर्शिता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उमेर ७५ वर्ष पु¥याउने सिफारिस राज्यको वित्तीय दायित्व व्यवस्थापन र सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा टिकाउ बनाउने उद्देश्यले गरिएको देखिन्छ। यद्यपि यस्तो प्रस्ताव कार्यान्वयनमा आउनुअघि राजनीतिक, आर्थिक तथा सामाजिक पक्षहरूलाई ध्यानमा राखेर विस्तृत छलफल र निर्णय आवश्यक हुने देखिएको छ।

1

Scroll to Top