अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा सम्झौतामा आउन ४८ घण्टाको अन्तिम अल्टिमेटम दिएका छन्। तोकिएको समयसीमाभित्र माग पूरा नभए इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी उनले दिएका छन्।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानलाई कडा सन्देश दिएका हुन्। उनले लेखेका छन्, “याद छ, मैले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न १० दिनको समय दिएको थिएँ। अब समय सकिँदै छ। ४८ घण्टापछि उनीहरूमाथि नर्कको वर्षा हुनेछ।”
ट्रम्पको यो टिप्पणीसँगै मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै रणनीतिक महत्त्व राख्ने स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो मात्रामा तेल ढुवानी हुने गर्छ। यदि यो मार्ग बन्द भयो भने विश्व ऊर्जा बजारमा गम्भीर प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।
ट्रम्पले यसअघि पनि इरानलाई पटक–पटक चेतावनी दिँदै आएका छन्। मार्च २१ मा उनले इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज नखोले अमेरिकी सेनाले इरानका प्रमुख ऊर्जा केन्द्र तथा पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिएका थिए।
तर त्यसपछि दुई देशबीच कूटनीतिक संवाद सुरु भएको संकेत दिँदै ट्रम्पले मार्च २३ मा सम्भावित सैन्य कारबाहीलाई अस्थायी रूपमा रोक्ने घोषणा गरेका थिए। उनले त्यसबेला इरानसँग “निकै राम्रो र फलदायी कुराकानी” भएको दाबी गरेका थिए।
यसपछि मार्च २७ मा फेरि एकपटक ट्रम्पले इरानी सरकारको आग्रहलाई ध्यानमा राख्दै ऊर्जा केन्द्रहरूमा हुने भनिएको आक्रमणलाई थप १० दिनका लागि स्थगित गरिएको बताएका थिए। उनले उक्त निर्णय अप्रिल ६ सम्मका लागि लागू हुने बताएका थिए।
तर अहिले सोही १० दिने म्याद समाप्त हुन लाग्दा ट्रम्पले पुनः कडा चेतावनी दिँदै इरानलाई ४८ घण्टाको अन्तिम समयसीमा दिएका हुन्। यसले अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ।
ट्रम्पले आफ्नो अर्को पोस्टमा अमेरिकाको आर्थिक नीतिबारे पनि चर्चा गरेका छन्। उनले अमेरिकी अर्थतन्त्रमा ट्यारिफ नीतिले सकारात्मक प्रभाव पारेको दाबी गर्दै भनेका छन् कि अमेरिकाले आर्थिक र सामरिक दुवै क्षेत्रमा आफ्नो शक्ति सुदृढ बनाइरहेको छ। सोही पोस्टको अन्त्यमा उनले “यी सबैका साथसाथै, हामी परमाणु इरानबाट छुटकारा पाउँदैछौँ” भन्ने टिप्पणी गरेका छन्।
विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो चेतावनीले मध्यपूर्वको सुरक्षा अवस्था जटिल बनाउन सक्छ। इरानले स्ट्रेट अफ होर्मुज सम्बन्धी आफ्नो नीतिमा परिवर्तन नगरे अमेरिकाले सैन्य कारबाहीको बाटो रोज्न सक्ने आशंका व्यक्त गरिएको छ।
यद्यपि अन्तर्राष्ट्रिय समुदायले भने अमेरिका र इरानबीच कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिँदै आएको छ। संयुक्त राष्ट्रसंघसहित विभिन्न शक्तिशाली मुलुकहरूले सम्भावित सैन्य द्वन्द्वले क्षेत्रीय स्थिरता र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्।
अहिले सबैको ध्यान इरानले आगामी ४८ घण्टाभित्र कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित भएको छ। त्यसले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा अवस्थालाई नयाँ मोडमा पुर्याउन सक्ने देखिन्छ।


