काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकको तर्फबाट चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमाथि पहिलोपटक चैत १६ गते सुनुवाइ हुँदा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
अदालतको आदेशपछि सरकारका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ। सोही आधारमा आज सर्वोच्च अदालतमा रिटमाथि थप सुनुवाइ हुन लागेको हो।
भदौ २३ र २४ गते नयाँ बानेश्वर आसपास भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेपछि प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
उनीहरूको गिरफ्तारीपछि राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ। विपक्षी दलहरूले पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् भने सरकारले भने आयोगको प्रतिवेदनअनुसार कानुनी प्रक्रिया अघि बढाइएको बताउँदै आएको छ।


