Banijya News

कम्बोडियाबाट ७ नेपालीको उद्धार, अनलाइन ठगीमा लगाइएका नेपालीको संख्या बढ्दै

1
1.1K Shares

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ७ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको हो।

राजदूतावासका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा ती नेपाली नागरिक चैत २२ गते कम्बोडियाबाट उडान भरी चैत २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। दलालहरूको प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काम गर्न बाध्य पारिएको थियो।

उद्धार गरिएका केही नेपालीहरू भिसा अवधि सकिएपछि पनि लुकेर बस्न बाध्य भएका थिए। उनीहरूलाई विभिन्न स्थानमा सारेर काम गराइने, राहदानी जफत गर्ने र मानसिक तथा आर्थिक दबाब दिने जस्ता समस्या भोग्नुपरेको दूतावासले जनाएको छ।

राजदूतावासका अनुसार कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिक अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका सूचना प्राप्त भइरहेका छन्। अनलाइन ठगी लगायतका गैरकानुनी गतिविधिमा लगाइएका र भिसा अवधि सकिएपछि पनि बसिरहेका नेपालीहरूको उद्धारका लागि पहल जारी रहेको दूतावासले जनाएको छ।

अलपत्र परेका तथा स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई तत्काल सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ। सहायता आवश्यक परेकाहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजीकुमार क्षेत्रीसँग सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएका नेपालीहरूको राहदानी रोजगारदाता कम्पनीले नै जफत गर्ने वा एक स्थानबाट अर्को स्थानमा सार्दा हराउने गरेको गुनासो पनि बढ्दै गएको छ। यस्तो अवस्थामा स्वदेश फर्कन चाहने नेपालीका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने व्यवस्था गरेको जनाएको छ। यससम्बन्धी सम्पूर्ण प्रक्रिया राजदूतावासको आधिकारिक वेबसाइटमार्फत पनि उपलब्ध गराइएको छ।

यसैबीच पछिल्लो समय भ्रमण भिसाको बहानामा कम्बोडिया जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको तथ्यांक सार्वजनिक भएको छ। कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार सन् २०२१ मा मात्र १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए। तर यो संख्या हरेक वर्ष तीव्र रूपमा बढ्दै गएको छ।

सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना र सन् २०२४ मा ६ हजार ४०४ जना नेपाली कम्बोडिया पुगेका थिए। सन् २०२५ मा भने यो संख्या बढेर ९ हजार ६ सय ७६ पुगेको दूतावासले जनाएको छ।

भिजिट भिसामा गएर मानव तस्कर तथा अवैध गिरोहको जालमा पर्ने नेपालीको संख्या बढ्न थालेपछि दूतावासले विशेष चेतावनी जारी गरेको छ। नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले आग्रह गरेको छ।

छिटो र धेरै पैसा कमाउने लोभमा भ्रमणको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा रोजगारीको खोजीमा नजान दूतावासले नेपाली नागरिकलाई सचेत गराउँदै सुरक्षित र कानुनी प्रक्रिया अपनाउन अनुरोध गरेको छ।

1

Scroll to Top