Banijya News

जाहेरी नआएपछि कलाकार ‘बले’माथिको अनुसन्धानमा प्रहरी अलमल

1
1.1K Shares

हास्य कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको आरोप सार्वजनिक भए पनि औपचारिक जाहेरी नपरेपछि प्रहरीले मुद्दा चलाउने विषयमा अन्योलमा परेको छ । अमेरिकामा बस्ने एक नेपाली युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई लम्सालले बलात्कार गरेको आरोप लगाउँदै लामो स्ट्याटस लेखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

तर आरोप लगाउने युवतीको तर्फबाट औपचारिक उजुरी दर्ता नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सामाजिक सञ्जालमार्फत गम्भीर आरोप सार्वजनिक भएपछि अनुसन्धानका लागि लम्साललाई नियन्त्रणमा लिइएको हो ।

“संवेदनशील विषय सार्वजनिक रूपमा उठेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो,” एसपी भट्टराईले भने, “तर हालसम्म पीडितको तर्फबाट औपचारिक जाहेरी परेको छैन । त्यसैले थप प्रक्रिया अघि बढाउन केही जटिलता देखिएको छ ।”

जाहेरी नपरेसम्म बलात्कारसम्बन्धी मुद्दा दर्ता गर्न नसकिने भएकाले प्रहरीले हाल लम्साललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर प्रहरीले आरोपीलाई केही समय हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रहरीका अनुसार आरोपबारे थप तथ्य संकलन गर्ने काम भइरहेको छ । आवश्यक प्रमाण र उजुरी प्राप्त भएमा त्यसअनुसार कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
यसैबीच उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ । यही विषयसँग जोडेर सक्रिय कलाकारहरु समेत दुई धारमा बहस गरिरहेका छन् ।
सामाजिक सञ्जालमार्फत उनीहरुले राखेको सन्देशमा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालमा हुने गालीगलौज तथा हिंसात्मक धम्कीप्रति चिन्ता व्यक्त गरेका छन् । उनले आफूले सार्वजनिक रूपमा मत व्यक्त गर्दा अपशब्द, गालीगलौज र हिंसात्मक धम्कीहरू प्राप्त भएको कुराहरु उठन थालेका छन् ।

“हामीले गणतन्त्र रोजेका हौँ । डराएर चुप बस्नका लागि होइन, सुरक्षित भएर बोल्न पाउनका लागि,” उनीहरुको सन्देश छ । कलाकार लम्सालमाथि लागेको आरोप र त्यसपछिको कानुनी प्रक्रिया, साथै सामाजिक सञ्जालमा देखिएको बहसले अभिव्यक्ति स्वतन्त्रता, साइबर दुव्र्यवहार र कानुनी प्रक्रिया सम्बन्धी प्रश्नहरूलाई पुनः चर्चामा ल्याएको छ । प्रहरीले भने घटनाबारे तथ्यगत अनुसन्धान जारी रहेको र आवश्यक प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

1

Scroll to Top