Banijya News

होर्मुज खुलाउने सर्तमा अमेरिका–इरान दुई साताका लागि युद्धविराम

1
1.1K Shares

अमेरिका र इरानबीच जारी तनावपूर्ण युद्ध अन्ततः अस्थायी रूपमा रोक्ने सहमति भएको छ। दुवै देशले दुई साताका लागि युद्धविराम गर्न सहमति जनाएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न दिएको अन्तिम समयसीमा सकिनु दुई घण्टा अगाडि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविराम घोषणा गरेका हुन्।

छ हप्तादेखि जारी संघर्षका बीच आएको यो निर्णयलाई कूटनीतिक रूपमा ठूलो मोडका रूपमा हेरिएको छ। केही घण्टा अघिमात्रै ट्रम्पले आफ्ना मागहरू पूरा नभए “आज राति एउटा सभ्यता नै समाप्त हुन सक्छ” भन्दै कडा चेतावनी दिएका थिए।

यस युद्धविरामको मध्यस्थता पाकिस्तानका प्रधानमन्त्रीले गरेका छन्। सहमतिअनुसार आगामी शुक्रबारदेखि पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु हुने बताइएको छ। इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि तेहरानले जवाफी आक्रमण रोक्ने र होर्मुज जलमार्गमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको बताएका छन्।

तर इरानी सरकारी सञ्चारमाध्यमले ट्रम्पको घोषणालाई ‘अपमानजनक पछि हटाइ’को रूपमा व्याख्या गरेका छन्। उता, इजरायलले पनि युद्धविरामलाई समर्थन गर्दै इरानमाथिको बमबारी रोक्ने जनाएको छ।

छ हप्ते युद्धमा हालसम्म करिब ५ हजार मानिसको मृत्यु भइसकेको छ, जसमा करिब १ हजार ६ सय इरानी सर्वसाधारण छन्। युद्धविरामको खबरसँगै विश्व बजारमा सकारात्मक प्रभाव परेको छ। अमेरिकी स्टक फ्युचर्स बढेका छन् भने कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ।

1

Scroll to Top