Banijya News

एलडिसी स्तरोन्नतिपछि तयारी पोसाक उद्योग संकटमा पर्न सक्ने चेतावनी

1
1.1K Shares

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोसाक उद्योगले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन्। नेपाल तयारी पोसाक उद्योग संघले आयोजना गरेको ‘एलडीसी ग्राजुएसनपछि तयारी पोसाकको निर्यात प्रवर्द्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक क्षेत्रको योगदान अत्यन्तै न्यून छ। उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि ५ प्रतिशतभन्दा कम रहेको र यस क्षेत्रमा रोजगारीको हिस्सा करिब ७ प्रतिशत मात्र भएकाले औपचारिक रोजगारी सिर्जना कमजोर रहेको उनले बताए।

पाण्डेका अनुसार प्रतिस्पर्धात्मक लागतको दृष्टिले पनि नेपाल पछि परेको छ। नेपालमा लजिस्टिक खर्च वस्तुको मूल्यको २८ देखि ३० प्रतिशतसम्म पुग्ने गरेको छ, जबकि भारतमा यो १४–१६ प्रतिशत र भियतनाममा १०–१२ प्रतिशत मात्र रहेको उनले उल्लेख गरे।

उनले एलडिसीबाट स्तरोन्नति हुन नेपाल पर्याप्त रूपमा तयार नभएको भन्दै बंगलादेशको उदाहरण प्रस्तुत गरे। भारत र युरोपेली युनियन (ईयू)बीच हुन लागेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए)ले पनि नेपाली निर्यातमा प्रत्यक्ष असर पार्न सक्ने उनको भनाइ छ। नेपालबाट ईयूमा हुने कुल निर्यातको करिब ७५ प्रतिशत हिस्सा टेक्सटायल क्षेत्रले ओगटेको छ।

उत्पादकत्व वृद्धि, लागत घटाउने र व्यवसायिक वातावरण सुधार गर्ने दिशामा ठोस पहल आवश्यक रहेको बताउँदै पाण्डेले स्तरोन्नतिका कारण कुनै पनि उद्योग क्षेत्र कमजोर नबन्ने गरी राष्ट्रिय स्तरमा तयारी गर्नुपर्नेमा जोड दिए।

1

Scroll to Top