Banijya News

अमेरिका–इरान वार्ता निष्कर्षविहीनः उपराष्ट्रपति जेडी भान्स इस्लामावादबाट स्वदेश फर्किए

1
1.1K Shares

जेडी भान नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल इरानसँगको महत्वपूर्ण वार्तामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ । करिब २१ घण्टासम्म चलेको गहन छलफलपछि पनि दुवै देशबीच कुनै ठोस निष्कर्ष ननिस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीका अनुसार अमेरिकी टोलीले ‘एयर फोर्स टु’ विमानमार्फत इस्लामावादबाट प्रस्थान गरेको हो। पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै उक्त प्रतिनिधिमण्डल वार्ता टुंगो नलागेपछि तत्कालै फर्किएको उल्लेख गरिएको छ। वार्ता अघि यो बैठकलाई अमेरिका–इरान सम्बन्ध सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो, तर अन्ततः अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेन।

इस्लामावादबाट उडान भर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति भान्सले वार्तामा प्रगति हुन नसकेको पुष्टि गरे। उनले दुवै पक्षबीच केही आधारभूत विषयमै सहमति जुट्न नसकेको बताएका थिए। उनका अनुसार अमेरिका वार्ताबाट सकारात्मक नतिजा चाहन्थ्यो, तर इरानको अडानका कारण सहमति सम्भव हुन सकेन।

यता इरानको तर्फबाट पनि कडा प्रतिक्रिया आएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता भ्कmबष् िद्यबनजबभष् ले अमेरिका आफ्नो ‘अत्यधिक माग’ बाट पछि हट्नुपर्ने बताएका छन्। उनले वार्ता असफल हुनुमा अमेरिकाको कठोर र लचिलोपनविहीन अडान मुख्य कारण रहेको संकेत गरेका छन्।

इरानी पक्षसँग नजिक रहेको स्रोतले फार्स समाचार एजेन्सीमार्फत दिएको जानकारीअनुसार अमेरिका वार्ताबाट बाहिरिने बहाना खोजिरहेको थियो। स्रोतका अनुसार अमेरिका अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कमजोर हुँदै गएको छवि सुधार्न वार्तालाई प्रयोग गर्न चाहन्थ्यो। साथै, इरानसँगको लामो तनाव र रणनीतिक प्रतिस्पर्धामा आफू अनुकूल परिणाम नआएपछि पनि अमेरिकाले आफ्ना मागहरू घटाउन इच्छुकता नदेखाएको आरोप लगाइएको छ।

अलजजिराले समेत सोही स्रोतलाई उद्धृत गर्दै अमेरिकाले वार्तालाई राजनीतिक रूपमा प्रयोग गर्न खोजेको उल्लेख गरेको छ। स्रोतका अनुसार, “इरानसँगको द्वन्द्व र गतिरोधका बावजुद अमेरिका आफ्नो अडानबाट पछि हट्न तयार देखिएन, जसले सहमतिको सम्भावना कमजोर बनायो।”

वार्ता असफल भएसँगै अब आगामी चरणको वार्ताबारे अनिश्चितता बढेको छ। इरानी स्रोतहरूले तत्काल नयाँ चरणको वार्ताको कुनै योजना नरहेको बताएका छन्। यसले दुवै देशबीचको तनाव थप लम्बिने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

यस घटनाले अमेरिका–इरान सम्बन्धमा पुनः चिसोपन बढ्ने सम्भावना देखिएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा शक्ति सन्तुलन र कूटनीतिक समीकरणमा यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। वार्ता असफल भएपछि अब दुवै पक्षले कस्तो रणनीति अपनाउँछन् भन्ने विषय अन्तर्राष्ट्रिय समुदायका लागि चासोको विषय बनेको छ।

1

Scroll to Top