कोकाकोला नेपालले फिफा वर्ल्ड कप २०२६ अभियान सुरु गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच यो अभियान घोषणा गरिएको हो ।
कार्यक्रममा कोकाकोला नेपालका नयाँ ब्रान्ड एम्बासडर अभिनेता प्रदीप खड्कालाई घोषणा गरिएको थियो । साथै, फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री पनि प्रस्तुत गरिएको थियो । त्यस्तै, छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोकाकोला फिफा प्याकको पहिलो झलक पनि देखाइएको थियो ।
कार्यक्रममा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भने, “यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो । विशेष कोकाकोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौँ । यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुसीका क्षणमा कोकाकोलाको भूमिका अझ बलियो बनाउनेछ ।”
ब्रान्ड एम्बासडर खड्काले कोकाकोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिए ।
त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए । उनीहरूले स्टेजमा आफ्नो अनुभव र फुटबलले ल्याउने खुसीबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
यस्तै, फिफा वर्ल्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ पनि सार्वजनिक गरिएको थियो । साथै, उक्त कार्यक्रममा कोकाकोलाको आधिकारिक गीत (एन्थेम), फिफा वर्ल्ड कप टीभीसी र अन्य प्रचारसामग्री पनि प्रदर्शन गरिएको थियो ।
कोकाकोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो । यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोकाकोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ । नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि लगातार सक्रिय रहँदै आएको छ ।


