नेपाली कांग्रेस ले गत २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उजुरी दर्ता गर्ने समयावधि एक महिना थप गरेको छ। पार्टी केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार यसअघि २०८२ चैत मसान्तसम्म तोकिएको समय अब २०८३ वैशाख मसान्तसम्म कायम रहने भएको हो।
समितिका संयोजक तारामान गुरुङ ले निर्वाचनका क्रममा अनुशासनहीन गतिविधि गरेको पाइएमा सम्बन्धित उजुरीहरू थपिएको समयभित्र केन्द्रीय अनुशासन समितिमा दर्ता गर्न सकिने जानकारी दिए। उनका अनुसार छानबिन प्रक्रियालाई प्रभावकारी बनाउन र सबै उजुरी समेट्न समय थपिएको हो।
यसैबीच, पार्टीका महामन्त्री प्रदीप पौडेल ले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरिने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले डिजिटल नवीकरणमार्फत सदस्यहरूको क्षमता पहिचान गरी जिम्मेवारी बाँडफाँट गर्ने प्रक्रिया अघि बढाइएको बताए।
महामन्त्री पौडेलले सदस्यता अभिलेख हटाइने भन्ने हल्ला असत्य रहेको स्पष्ट पार्दै पुराना विवरणहरूलाई व्यवस्थित र सुरक्षित रूपमा डिजिटल प्रणालीमा राखिने बताए। उनले प्रविधिको प्रयोगबाट सदस्यहरूको आवद्धता, क्षमता र उपयुक्त जिम्मेवारीबारे स्पष्ट जानकारी प्राप्त हुने उल्लेख गरे।
उनले निर्वाचनपछि पार्टी जनमतका हिसाबले केही कमजोर देखिएको स्वीकार गर्दै अहिले एकता र अनुशासन अझ आवश्यक भएको बताए। साथै, डिजिटल प्रणालीले पार्टीभित्र समन्वय सहज बनाउने र संगठन सुदृढीकरणमा टेवा पुग्ने उनको भनाइ थियो।
आगामी अधिवेशनलाई विधिसम्मत, व्यवस्थित र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले सबै नेता–कार्यकर्तालाई सहकार्यका लागि अपिल गरे। साथै, अग्रज नेताहरूको अनुभवलाई पार्टी सुदृढीकरणमा उपयोग गरिने पनि उनले बताए।


