Banijya News

रास्वपाको केन्द्रीय समिति बैठक, संगठन विस्तार देखि के–के छन् एजेण्डा ?

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीका अनुसार बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ। सभापति रवि लामिछाने को निर्देशनमा बोलाइएको उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था र संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी प्रवक्ता मनिष झाले का अनुसार बैठकमा संगठन विस्तार, आन्तरिक संरचना मजबुत बनाउने तथा आगामी गतिविधिका प्राथमिकता निर्धारण गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहनेछन्। पछिल्लो समय पार्टीले संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै विभिन्न तहमा संरचना विस्तार गर्ने योजना अघि बढाइरहेको छ ।

यसअघि आइतबार सचिवालय बैठक बस्ने तय गरिएको छ, जहाँ जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि, बैंक खाता सञ्चालनको प्रक्रिया, केन्द्रीय आयोग गठन, सल्लाहकार परिषद् निर्माण, संघीय नेतृत्व मञ्च गठन तथा विभिन्न विभागहरूको मनोनयन जस्ता विषयमा विस्तृत छलफल हुने बताइएको छ । यी विषयमा सचिवालयस्तरमा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि पेश गरिने तयारी छ ।

रास्वपाले छोटो समयमै देशव्यापी संगठन विस्तार गर्ने लक्ष्य राखेको छ। त्यसका लागि जिल्ला र स्थानीय तहमा संरचना व्यवस्थित गर्ने, नेतृत्व चयन प्रक्रिया स्पष्ट बनाउने र आन्तरिक प्रशासनिक व्यवस्थालाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ। आगामी बैठकहरूलाई यस दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यस्ता छन् छलफलका एजेन्डा

-पार्टी गतिविधि व्रिफिङ ।
-केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
-केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
-महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
-विधान संशोधन सम्बन्धमा ।
-स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।
-प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
-सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग.संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

1

Scroll to Top