उद्योगी शेखर गोल्छा लाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएपछि नेपालको निजी क्षेत्र एकजुट भएर सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। प्रमुख छाता सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उद्यमीमाथि भइरहेको धरपकडले मुलुकको लगानी वातावरणमा नकारात्मक सन्देश गएको बताएका छन्।
सरकारले उद्योगी व्यवसायी माथि गरेको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनाएको निजी क्षेत्रका छाता संगठनले बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले यस्तो बताएका हुन् । बिहीबार प्रहरीले उद्योगी शेखर खोल्छालाई नियन्त्रणमा लिएसँगै निजी क्षेत्रले संयूक्त विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा नयाँ सरकार गठनपछि देशमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको उल्लेख गर्दै यस्तो समयमा उद्यमी व्यवसायीलाई पक्राउ गरिनु चिन्ताजनक भएको जनाइएको छ। निजी क्षेत्रले यसलाई लगानीकर्तामा डर र अन्योल सिर्जना गर्ने कदमका रूपमा व्याख्या गरेको छ।
निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा आफ्नो महत्वपूर्ण योगदान स्मरण गराउँदै यस्तो अवस्थाले दूरगामी असर पार्ने चेतावनी दिएको छ। विज्ञप्तिअनुसार निजी क्षेत्रले कुल अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान गर्दै आएको छ भने रोजगारी सिर्जनामा ८६ प्रतिशत हिस्सा ओगटेको छ। यस्तो संवेदनशील क्षेत्रमा त्रासको वातावरण सिर्जना हुँदा अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा समेत प्रतिकूल असर पर्ने उनीहरूको भनाइ छ।
नियामक निकायका प्रतिवेदनकै आधारमा मात्र उद्योगी व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति पनि निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। आर्थिक कसुरका मुद्दामा अनुसन्धान प्रक्रियालाई प्राथमिकता दिई दोष प्रमाणित भएपछि मात्रै कारबाही गर्नुपर्नेमा जोड दिँदै सरकारलाई कानुनी प्रक्रिया र न्यायिक मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
उद्यमीहरूले आफूहरू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको र सम्बन्धित निकायले बोलाएको बेला उपस्थित हुन तयार हुँदाहुँदै पनि पक्राउ गरिनु अनुपयुक्त भएको बताएका छन्। यस्तो व्यवहारले समग्र निजी क्षेत्रलाई निरुत्साहित मात्र नभई दुःखी बनाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा उद्यमीमाथि हुने यस्ता कारबाहीले व्यक्तिगत क्षतिमा मात्र सीमित नरही व्यापक आर्थिक प्रणालीमा असर पर्ने चेतावनी दिइएको छ। लाखौं रोजगारी, आपूर्ति शृङ्खला, बैंकिङ प्रणाली तथा समग्र आर्थिक संरचनामा गम्भीर धक्का पुग्न सक्ने भन्दै निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माण प्रक्रियामा निजी क्षेत्रलाई सहभागी गराउने प्रयासलाई भने सकारात्मक कदमका रूपमा स्वागत गरिएको छ। मन्त्रिपरिषद्ले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति पारित गरिसकेको सन्दर्भमा भइरहेको धरपकडले भने विपरीत सन्देश दिएको निजी क्षेत्रको भनाइ छ।
विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ कि कसुर प्रमाणित भए दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्छ भन्नेमा निजी क्षेत्रको कुनै असहमति छैन। तर, नेपालको संविधानले सुनिश्चित गरेको ‘कसुर प्रमाणित नभएसम्म दोषी नमानिने’ सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिइएको छ।
पछिल्लो चार वर्षदेखि सुस्ताउँदै गएको अर्थतन्त्रलाई नयाँ सरकारको नीतिगत स्पष्टता र व्यवसायीमैत्री व्यवहारले पुनः चलायमान बनाउने अपेक्षा गरिएको अवस्थामा यस्तो घटनाले उल्टो असर पार्ने चिन्ता व्यक्त गरिएको छ।
संयुक्त विज्ञप्तिमा चन्द्र प्रसाद ढकाल, वीरेन्द्रराज पाण्डे र कमलेश कुमार अग्रवाल ले हस्ताक्षर गरेका छन्। निजी क्षेत्रले अन्त्यमा देशको समृद्धि निजी लगानी र उद्यमशीलताबाट मात्रै सम्भव हुने भएकाले यसतर्फ सबै पक्षले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिएको छ।


