Banijya News

परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिमा सरकार

1
1.1K Shares

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी थालेको छ । हालसम्म परराष्ट्र मन्त्रालयका क्यारियर कूटनीतिज्ञ तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा हुने गरेको नियुक्ति प्रक्रियालाई परिवर्तन गर्दै सरकारले योग्य व्यक्तिलाई प्रतिस्पर्धाबाट छनोट गर्ने नीति अघि सारेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसका लागि निश्चित संख्यामा विज्ञापन आह्वान गरिनेछ र आवेदन दिएका उम्मेदवारहरूमध्येबाट योग्य र सक्षम व्यक्तिलाई छनोट गरी राजदूत नियुक्त गरिने योजना बनाइएको छ । परराष्ट्र मन्त्री शिशिर खनालले समेत आन्तरिक रूपमा यसबारे छलफल अघि बढाइसकेको जनाइएको छ ।

सोमबार मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले केही राजदूत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नेबारे धारणा राखेका थिए । बैठकमा उनले यस प्रस्तावका लागि प्रधानमन्त्रीको सहमति समेत लिइसकेको जानकारी गराएको स्रोतको भनाइ छ । यद्यपि, विज्ञापन कहिले खुल्ने भन्नेबारे औपचारिक मिति भने सार्वजनिक गरिएको छैन ।

मन्त्री खनालको सचिवालयका एक सदस्यका अनुसार अर्को हप्ताभित्रै खुला दरखास्त आह्वान हुनसक्ने सम्भावना छ । यदि यस्तो भयो भने नेपालको कूटनीतिक इतिहासमा यो पहिलो पटक हुनेछ, जहाँ राजनीतिक भागबण्डा र आन्तरिक सिफारिसभन्दा बाहिर गएर खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गरिनेछ ।

हाल लागू रहेको ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाबीच खुला प्रतिस्पर्धाको अवधारणा लागू गर्न खोजिनु कूटनीतिक क्षेत्रको संरचनात्मक सुधारको संकेतका रूपमा हेरिएको छ ।

नेपालका हाल ४४ विदेशस्थित नियोग रहेका छन्, जसमा ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय समावेश छन् । तीमध्ये भारत, चीन, अमेरिका, बेलायतजस्ता महत्वपूर्ण देशसहित हाल १७ वटा राजदूत पद रिक्त छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई पछिल्ला राजनीतिक परिवर्तनपछि फिर्ता बोलाउने निर्णय गरिएको थियो ।

यसैबीच आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् । ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिन लागेकाले नयाँ नियुक्तिका लागि अवसर थपिनेछ । यसरी हेर्दा वर्तमान सरकारले एकैपटक करिब २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउने देखिन्छ ।

1

Scroll to Top