पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाई मार्गमा अवरोध र विश्व पर्यटन बजारमा देखिएको अस्थिरताबीच नेपालले छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्र बनाएको छ । यही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई आकर्षक वैवाहिक गन्तव्यका रूपमा प्रस्तुत गर्दै विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) ले भारतस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेशन वेडिङ एन्ड ओटीएज कनेक्ट’ नामक कार्यक्रम आयोजना गरेका हुन् । वैशाख १५ र १६ गते दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा विवाह व्यवस्थापन (वेडिङ) क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत नेपाललाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र परम्परागत वैवाहिक संस्कारको संगम भएको उत्कृष्ट गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको छ । कार्यक्रममा २१ नेपाली पर्यटन तथा आतिथ्य क्षेत्रमा आवद्ध कम्पनीहरू र ४५ भारतीय वेडिङ प्लानरहरूको सहभागिता रहेको जनाइएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीका अनुसार कार्यक्रममा नेपाली प्रतिनिधिहरूले नेपालमा उपलब्ध उच्चस्तरीय होटल, रिसोर्ट तथा विवाह आयोजनाका लागि आवश्यक सेवा सुविधाबारे प्रस्तुति दिएका थिए । बी–टु–बी बैठक, नेटवर्किङ र छलफलमार्फत दुई देशबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार भएको उनले बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले वैवाहिक पर्यटन नेपालको लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे । उनका अनुसार नेपालमा विलासी होटल तथा रिसोर्टदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मका विविध विकल्प उपलब्ध भएकाले यस क्षेत्रको विकासले उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिन्छ ।
उनले यस्ता कार्यक्रमले पर्यटक आगमन बढाउनुका साथै ‘हाइ–भ्यालु टुरिज्म’ प्रवर्द्धनमा सहयोग पुर्याउने र त्यसबाट समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । भारतीय वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष निरज धवनले भारतीय बजारमा ‘डेस्टिनेशन वेडिङ’ को बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा राखे ।
त्यसैगरी, नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले विवाहको सांस्कृतिक महत्व र पूर्वीय सभ्यतामा यसको विशिष्ट स्थानबारे जानकारी गराउँदै नेपालले भारतीय बजारका लागि उत्कृष्ट वैवाहिक गन्तव्य बन्ने क्षमता राख्ने उल्लेख गरे । उनले नेपालको आतिथ्य सत्कार, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भारतीय पर्यटकलाई आकर्षित गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका तथ्यांकअनुसार भारत नेपालको प्रमुख पर्यटन स्रोत बजारका रूपमा रहेको छ । सन् २०२५ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४३८ भारतीय पर्यटक रहेका थिए । सो वर्ष कुल ११ लाख ५८ हजार ४५१ पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटन बोर्डका अनुसार भारतीय बजार लक्षित वैवाहिक पर्यटन प्रवर्द्धनले वर्षभरि पर्यटन गतिविधि सन्तुलित बनाउन तथा उच्च आय हुने पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, नेपाललाई केवल पर्यटकीय गन्तव्य मात्र नभई सांस्कृतिक अनुभव र विलासी सेवा प्रदान गर्ने विशेष स्थलका रूपमा स्थापित गर्न समेत यसले टेवा पुर्याउने विश्वास गरिएको छ ।


