Banijya News

देशले तीव्र आर्थिक छलाङ मार्ने उपयुक्त समय आएको छ : अर्थमन्त्री वाग्ले

1
1.2K Shares

अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपालको वर्तमान आर्थिक अवस्थालाई करिब एक दशकअघिको भारत सँग तुलना गर्दै अब देशले तीव्र आर्थिक छलाङ मार्ने उपयुक्त समय आएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल अहिले आर्थिक प्रस्थान बिन्दुमा रहेको उल्लेख गर्दै उच्च आर्थिक वृद्धिको मार्ग समात्नुपर्नेमा जोड दिएका हुन्।

उनका अनुसार सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी करिब १,५०० अमेरिकी डलर रहेको थियो, जुन स्तरमा अहिले नेपाल पुगेको छ। यही आधारलाई टेकेर आगामी वर्षहरूमा नेपालले तीव्र आर्थिक प्रगति गर्न सक्ने विश्वास उनले व्यक्त गरे। उनले भने, “हामी अब त्यस्तो चरणमा छौं जहाँ सही नीति र स्थिरताले आर्थिक विकासलाई तीव्र गति दिन सक्छ।”

अर्थमन्त्री वाग्लेले वर्तमान सरकार पाँच वर्षसम्म स्थिर रहने दाबी गर्दै यसले लगानीकर्ताहरूलाई नीतिगत स्पष्टता र विश्वास प्रदान गर्ने बताए। उनले निजी क्षेत्रलाई सशक्त बनाउने र व्यवसायमैत्री वातावरण सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे। उनका अनुसार लगानीको सुरक्षा, सम्पत्तिको संरक्षण र करार कार्यान्वयनलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइनेछ।

नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भौगोलिक सीमिततालाई पार गर्न डिजिटलाइजेसनलाई प्रमुख साधनका रूपमा अघि बढाइएको उनले जानकारी दिए। सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ। उनले “तौलरहित र दूरीरहित अर्थतन्त्र” को अवधारणालाई व्यवहारमा उतार्ने समय आएको पनि उल्लेख गरे।

उनले विगतमा नीतिगत कब्जा र भ्रष्टाचारका कारण बिग्रिएको व्यावसायिक वातावरण सुधार गरिने प्रतिबद्धता व्यक्त गरे। कानून कार्यान्वयनमा कडाइ गरिने तर इमानदार व्यवसायीलाई पूर्ण संरक्षण दिइने उनको भनाइ थियो। साथै, प्रशासनिक झन्झट हटाउने र पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने कार्यलाई सरकारले प्राथमिकता दिने उनले पुनः दोहोर्‍याए।

अर्थमन्त्री वाग्लेले आगामी सात वर्षभित्र नेपालको प्रतिव्यक्ति आम्दानी ३,००० डलर पुर्‍याउने र अर्थतन्त्रको आकार करिब १०० अर्ब डलरमा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले पछिल्ला वर्षहरूमा भारतले हासिल गरेको ९ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिदर नेपालले पनि पछ्याउन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उनले नेपालको पर्यटन, जलविद्युत् तथा उच्च मूल्यका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना औंल्याए। यी क्षेत्रहरूलाई प्राथमिकतामा राखेर लगानी वृद्धि गरिने र निजी क्षेत्रसँग सहकार्य गरेर समग्र अर्थतन्त्रलाई बलियो बनाउने योजना रहेको उनले बताए।

1

Scroll to Top