Banijya News

‘सरकारले धरपकड गर्दैन, लगानीकर्ता ढुक्क भएर अगाड बढ्नुहोस्’ – रवि लामिछाने

1
1.1K Shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई केन्द्रमा राख्ने नीति अघि सारेको छ। उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै लामिछानेले निजी क्षेत्रको सक्रिय सहभागिता बिना आर्थिक रूपान्तरण सम्भव नभएको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर अघि बढ्न आग्रह गरे।

उनले राज्य र राजनीतिक दलहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। रास्वपाले अघि सारेको ‘अर्थ–राजनीति’ अवधारणामार्फत व्यवसायीका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो। बजारलाई गतिशील बनाउन नसक्ने राजनीतिले देशको विकासमा योगदान दिन नसक्ने उनले स्पष्ट पारे।

व्यवसाय सञ्चालनका लागि राजनीतिक पहुँच अनिवार्य हुने परिपाटी अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाए। विगतमा बाध्यतावश नेताहरूको सम्पर्कमा जानुपर्ने अवस्था अब दोहोरिन नदिने उनको भनाइ थियो। उनले व्यवसायीलाई कुनै पनि दलको सदस्यता लिन वा चन्दा दिन नपर्ने व्यवस्था सुनिश्चित गरिने बताए। व्यक्तिको सम्बन्धभन्दा नीति र कानुनी संरचनाले लगानीको सुरक्षा गर्ने प्रणाली विकास गरिने उनको जोड थियो।

पछिल्लो समय उद्योगी–व्यवसायीमा देखिएको त्रास र सरकारी कारबाहीबारे पनि उनले धारणा राखे। सुशासन कायम गर्ने क्रममा इमानदार व्यवसायीलाई अनावश्यक रूपमा डराउन नपर्ने उनले स्पष्ट पारे। आर्थिक अनियमितता वा करसम्बन्धी त्रुटिहरूलाई फौजदारी मुद्दा बनाउनेभन्दा जरिवाना र कानुनी प्रक्रिया मार्फत समाधान गर्ने नीति लिइने उनले बताए। तर राज्य संयन्त्रको दुरुपयोग गरेर गरिने ठूला आर्थिक अपराधमा भने कडा कदम चालिने चेतावनी उनले दिए।

लामिछानेले सीमा क्षेत्रमा भइरहेको खुला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारेका हुन्। उनले तस्करी नियन्त्रणका लागि कडाइ गर्दा सीमावर्ती क्षेत्रका सर्वसाधारणमा केही असन्तुष्टि देखिएको स्वीकार गर्दै ती क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर नीतिगत पुनर्विचार भइरहेको जानकारी दिए। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवनशैली वर्षौँदेखि वारिपारि गर्ने र सस्तो बजारबाट घरायसी सामान ल्याएर चलाउने प्रकृतिको रहेको लामिछानेको भनाइ छ।

यद्यपि, एकातिर उपभोक्ताले सस्तो खोज्ने र अर्कोतिर सीमावारिका नेपाली व्यवसायीहरूको लगानी डुब्ने अवस्था सिर्जना हुनु राज्यका लागि चुनौतीपूर्ण रहेको उनले बताए। स्वदेशी उद्यमी र व्यवसायीको व्यवसाय फस्टाउनु नै राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले विदेशी सस्तो बजारको प्रतिस्पर्धाले नेपाली बजार धराशायी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउने लक्ष्यसहित यसलाई ‘रणनीतिक उद्योग’ घोषणा गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए। डिजिटल अर्थतन्त्रको विस्तारमार्फत व्यापार घाटा घटाउने र युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य राखिएको छ।

आगामी बजेटमार्फत स्टार्टअप व्यवसायलाई प्रोत्साहन दिने नीति ल्याइने भएको छ। अन्तर्राष्ट्रिय बजारसँग जोडिन सहज बनाउन पेमेन्ट गेटवे सम्बन्धी कानुनी अवरोध हटाउने, कर छुट उपलब्ध गराउने तथा सफ्टवेयर निर्यात गर्ने कम्पनीहरूका लागि अनुकूल वातावरण निर्माण गरिने उनले बताए।

पूर्वाधार विकासमा देखिएको ढिलासुस्ती हटाउन ‘पूर्वाधार संकटकाल’ अवधारणा लागू गर्ने योजना पनि सार्वजनिक गरिएको छ। लामो समयदेखि अधुरा रहेका राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न २४ सै घण्टा तीन सिफ्टमा काम गर्ने व्यवस्था लागू गरिने उनले बताए। दाउन्ने जस्ता महत्त्वपूर्ण सडक खण्डमा देखिएको ढिलाइ अन्त्य गर्दै अब विकास आयोजना समयमै सम्पन्न गरिने उनले दाबी गरे। यसमा निजी क्षेत्रको प्राविधिक दक्षता अधिकतम प्रयोग गरिने उल्लेख गरिएको छ।

वैदेशिक सम्बन्धलाई पनि आर्थिक केन्द्रित बनाउने नीति अघि सार्दै उनले अब कूटनीतिक भेटघाटलाई परिणाममुखी बनाइने बताए। नेपाललाई सुरक्षित लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्दै विदेशी लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ। दुई ठूला छिमेकीसँगको सम्बन्धलाई आर्थिक लाभसँग जोड्न नसके त्यसको अर्थ नहुने उनले बताए।

साथै, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाइने उनले स्पष्ट पारे। कुनै पनि नागरिकलाई विस्थापित नगरी सुरक्षित आवासको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै उनले जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थायी समाधान प्रदान गर्ने योजना रहेको बताए।

1

Scroll to Top