मुलुकमा लगानीको वातावरण कमजोर बनेको भन्दै निजी क्षेत्रले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समक्ष ठोस सुधारको माग राखेको छ। आइतबार आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा उद्योगी–व्यवसायीहरूले वर्तमान सरकारप्रति उच्च अपेक्षा रहेको उल्लेख गर्दै लगानी आकर्षित गर्न विशेष नीतिगत प्याकेज ल्याउनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने समेत सहभागी थिए।
संवादका क्रममा दूरसञ्चार क्षेत्रको प्रतिनिधित्व गर्दै माइकल फोले ले नेपालको टेलिकम पूर्वाधार कमजोर भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पछाडि परेको बताए। उनका अनुसार हालको संरचनाले वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन अवरोध सिर्जना गरिरहेको छ। उपयुक्त नीति र वातावरण बनेमा एनसेल थप लगानीका लागि तयार रहेको उनले स्पष्ट पारे।
फोलेले ५जी सेवा मात्र नभई फाइबर नेटवर्क, डाटा सेन्टर, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र भू–उपग्रह प्रणालीमा व्यापक लगानी आवश्यक रहेको औँल्याए। डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन केन्द्रीय बैंक डिजिटल मुद्रा, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन र विभिन्न डिजिटल सेवामा ठूलो पूँजी लगानी अनिवार्य हुने उनको भनाइ थियो। “हालको पूर्वाधारले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्दैन, त्यसैले नयाँ क्षमताको निर्माणमा ध्यान दिनुपर्छ,” उनले भने।
उद्योगी वरुण चौधरी ले दुई तिहाइ नजिकको सरकारप्रति निजी क्षेत्रको ठूलो अपेक्षा रहेको बताए। उनका अनुसार विदेशी लगानीकर्ताहरू नेपालको जलविद्युत्, विमानस्थल, पूर्वाधार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सकारात्मक भए पनि आकर्षित गर्ने वातावरणको अभाव छ। उनले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार्न, लगानीकर्तालाई भरोसा दिलाउन र प्रोत्साहनका प्याकेज ल्याउन सरकारलाई आग्रह गरे। उनले भने,-”मुलुकमा दुई तिहाइको सरकार आएको छ अहिले, यो सरकारसँग हाम्रो पनि धेरै आशा छ । विदेशी लगानीकर्ताहरू पनि अत्यन्त सकारात्मक छन् । तर नेपालको हामीले अहिलेको छवि सुधार्न धेरै नै जरुरी छ । ’
त्यस्तै, उद्योगी किशोर प्रधानले कर संरचनामा सुधार आवश्यक रहेको औँल्याउँदै मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागू गर्न माग गरे। एउटै १३ प्रतिशत दरले सबै वस्तुमा कर लगाउनु अव्यवहारिक भएको भन्दै उनले सूचना प्रविधिको विकाससँगै बहुदर प्रणाली लागू गर्न सम्भव भएको बताए। कर्मचारीतन्त्रको असहयोगका कारण विगतमा यो विषय कार्यान्वयन हुन नसकेको आरोप पनि उनले लगाए।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा ले रास्वपाले अघि सारेको आर्थिक लक्ष्यहरू महत्वाकांक्षी भए पनि प्राप्त गर्न सकिने बताए। सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य रहेको उनको भनाइ थियो। उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन कर दर घटाएर प्रणालीलाई सरल र आकर्षक बनाउनुपर्ने सुझाव दिए।
कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले पनि कर प्रणाली, नियामक जटिलता, पूर्वाधार अभाव र नीतिगत अनिश्चितताले लगानी प्रभावित भएको बताएका थिए। विशेषगरी भन्सार दर, आयकर, अन्तःशुल्क लगायतका क्षेत्रमा सुधार नगरी लगानी वृद्धि सम्भव नहुने उनीहरूको धारणा थियो। उनीहरूले नीति स्थायित्व, प्रशासनिक सहजीकरण र पारदर्शी कार्यान्वयनमा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताए । रोजगारी सिर्जना, राजस्व वृद्धि र मुलुकको समग्र पूर्वाधार विकासमा निजी क्षेत्रको अहम भूमिका रहने उल्लेख गर्दै नेतृत्वबाट प्राप्त सकारात्मक सन्देशले उद्योगी व्यवसायीमा नयाँ उत्साह सञ्चार गर्ने उनले बताए । परम्परागत शैलीमा चलिरहेका कतिपय पद्धतिलाई सुधार गर्ने क्रममा केही अन्योल देखिए पनि निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने र आफ्ना वाचापत्रअनुसार नै अगाडि बढ्ने राजनीतिक नेतृत्वको प्रतिबद्धता सराहनीय रहेको उनको भनाइ छ ।
‘पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ,’ ढकालले भने, ‘यसले आगामी दिनमा थप लगानी भित्र्याउन, व्यावसायिक क्रियाकलाप विस्तार गर्न र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ ।’
कार्यक्रममा, स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्की लगायतले पनि रास्वपासँगको संवादले केही आशा जगाएको बताएका थिए। उनीहरूले लगानी प्रवर्द्धनका लागि दीर्घकालीन नीति, स्थिर कर प्रणाली र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।


