आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयसँगको विस्तृत छलफल अघि बढाएको छ। सोही क्रममा सोमबार नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरिएको छ। दिनभर चलेको उक्त छलफल मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सञ्चालन भएको हो भने यो प्रक्रिया मंगलबारसम्म निरन्तर चल्ने जनाइएको छ।
अर्थ मन्त्रालयका अनुसार सोमबारको छलफल गृह मन्त्रालयसँग सुरु गरिएको थियो। त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग विस्तृत छलफल सम्पन्न गरिएको हो।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा अर्थ तथा राजश्व सचिव, बजेट लेखन समितिका संयोजक र सदस्यहरू, साथै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख एवं विषयगत शाखा प्रमुखहरू उपस्थित थिए। उनीहरूले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा महाशाखा प्रमुखहरूसँग आगामी बजेटको संरचना, प्राथमिकता निर्धारण, नीति तथा कार्यक्रम र प्रस्तावित बजेटको आकारबारे गहन छलफल गरेका थिए।
छलफलका क्रममा विशेषगरी सीमित स्रोतको अधिकतम उपयोग कसरी गर्ने, विकास खर्च प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिने तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने विषयमा जोड दिइएको स्रोतले जनाएको छ। त्यस्तै, मन्त्रालयहरूबाट प्रस्तुत गरिएका कार्यक्रमहरूको प्रभावकारिता, कार्यान्वयन क्षमता र उपलब्ध स्रोतबीच सन्तुलन कायम गर्ने विषयमा समेत बहस भएको थियो।
सोमबारको छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना सहभागी भएका थिए। यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललगायत सम्बन्धित मन्त्रालयका सचिवहरूको पनि उपस्थिति रहेको थियो।
अर्थ मन्त्रालयले यस प्रकारको छलफलमार्फत सबै मन्त्रालयका प्राथमिकता, आवश्यकताहरू र उपलब्ध स्रोतबीच समन्वय गर्दै यथार्थपरक र कार्यान्वयनयोग्य बजेट तयार गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार यसपटकको बजेटमा आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखिनेछ।
बजेट निर्माणको प्रारम्भिक चरणमा भएको यस्तो विस्तृत छलफलले आगामी बजेटलाई थप व्यावहारिक, समावेशी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। मंगलबार पनि अन्य मन्त्रालयसँग छलफल जारी रहने र त्यसपछि प्राप्त सुझाव तथा प्रस्तावका आधारमा बजेटको अन्तिम खाका तयार पारिने अर्थ मन्त्रालयले जनाएको छ।


