पछिल्लो समय मोबाइल र इन्टरनेटमार्फत हुने बैंकिङ ठगीका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साइबर अपराधीहरूले नयाँ–नयाँ तरिका प्रयोग गर्दै मानिसहरूको व्यक्तिगत तथा बैंकिङ जानकारी चोरेर रकम हिनामिना गर्ने प्रवृत्ति बढ्दो रहेको ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पछिल्ला दिनहरूमा अपराधी समूहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता आधिकारिक सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी नक्कली सन्देश पठाउने गरेको पाइएको छ। ती सन्देशहरूमा ‘तपाईंको खाता लक गरिएको छ’ वा ‘तपाईंको सेवा अवरुद्ध भएको छ’ जस्ता त्रास सिर्जना गर्ने भाषा प्रयोग गरी प्रयोगकर्तालाई झुक्याउने प्रयास गरिन्छ। त्यसपछि खाता पुनः सञ्चालन गर्न भन्दै शंकास्पद लिंकहरू पठाइन्छन्।
प्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेपछि उनीहरूको मोबाइल वा कम्प्युटरबाट गोप्य विवरणहरू, जस्तै पासवर्ड, ओटीपी (OTP) कोड, र बैंक खाता जानकारी संकलन गरिन्छ। ती विवरणको दुरुपयोग गरी अपराधीहरूले खातामा अनधिकृत पहुँच प्राप्त गरेर रकम चोरी गर्ने गरेका छन्। यसरी केही मिनेटमै ठूलो आर्थिक क्षति हुने जोखिम रहेको साइबर ब्यूरोले चेतावनी दिएको छ।
यस किसिमका ठगीबाट बच्न ब्यूरोले केही महत्वपूर्ण सुझावहरू पनि सार्वजनिक गरेको छ। कुनै पनि अज्ञात वा शंकास्पद लिंकमा क्लिक नगर्ने, बैंकिङ सेवाका लागि सधैं आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्ने, तथा आफ्नो गोप्य विवरण कसैसँग पनि साझा नगर्ने प्रमुख सावधानीहरू हुन्। साथै, मोबाइलमा आएका सन्देश वा फोन कलहरूलाई पुष्टि नगरी विश्वास नगर्न पनि आग्रह गरिएको छ।
यसैबीच, साइबर ब्यूरोको नाम दुरुपयोग गरेर ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाका ३० वर्षीय दीपक लिम्बू, सुनसरी धरानका २१ वर्षीय सौरव भुजेल, २८ वर्षीय सजल राई तथा २४ वर्षीय सृजन थापा रहेका छन्। उनीहरूले साइबर ब्यूरोको नाम प्रयोग गरी फोन सम्पर्क गरेर सर्वसाधारणलाई डर, त्रास र प्रलोभनमा पारेर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनीहरूले ट्रूकलर जस्ता एपमा समेत आफूलाई ‘साइबर ब्यूरो’ देखिने गरी सेटअप गरी विश्वास दिलाउने प्रयास गरेका थिए। पीडितहरूको उजुरीका आधारमा गरिएको प्राविधिक अनुसन्धानपछि उनीहरूको संलग्नता पुष्टि भएको हो। उनीहरूलाई धरान क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
हाल पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय माध्यमसम्बन्धी ठगीको मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोले डिजिटल प्रविधिको प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले सचेतना नै सबैभन्दा ठूलो सुरक्षा उपाय भएको उल्लेख गरेको छ। सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय, साइबर ब्यूरो वा सम्बन्धित बैंकलाई तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।


