क्यानाडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। टोरन्टोमा सम्पन्न साधारण सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो।
यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवको जिम्मेवारी सम्हाल्दै आएका लामिछाने संस्थाको नेतृत्वमा पुगेसँगै नेपाल र क्यानाडाबीचको व्यापारिक तथा लगानी सम्बन्धलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत ६ वर्षदेखि क्यानाडामा सक्रिय रहेको उक्त संस्थाले नेपाली उद्यमी, व्यवसायी तथा लगानीकर्ताबीच सहकार्य बढाउने र नेपाल–क्यानाडा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले दुवै देशका व्यावसायिक समुदायबीच पुलको भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइँटेल, सचिवमा विनोद श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन्।
निर्वाचन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन अधिकृत डा. तुलसी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष विजय पौडेलले संस्थालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले क्यानाडामा रहेका नेपाली व्यवसायीहरूको हित र नेटवर्क विस्तारका लागि संस्थाले आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पदभार ग्रहणपछि अध्यक्ष गोकर्ण लामिछानेले संस्थालाई केवल औपचारिक संगठनका रूपमा नभई अनुभव आदानप्रदान, सहकार्य र मार्गदर्शनको साझा थलोका रूपमा विकास गर्ने योजना रहेको बताए। उनले तामझामपूर्ण कार्यक्रमभन्दा व्यवस्थित, नतिजामुखी र दीर्घकालीन प्रभाव पार्ने गतिविधिलाई प्राथमिकतामा राखिने स्पष्ट पारे।
लामिछानेले आगामी दिनमा ‘मेम्बरसिप ड्राइभ’लाई अभियानकै रूपमा सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार क्यानाडामा रहेका नेपाली व्यवसायी, उद्यमी तथा पेशाकर्मीलाई एउटै मञ्चमा आबद्ध गर्दै उनीहरूका समस्या र सरोकार सम्बन्धित निकायसम्म सशक्त रूपमा पुर्याउने लक्ष्य संस्थाले लिएको छ।
त्यसैगरी, नेपाल र क्यानाडाबीच व्यापार, लगानी तथा व्यवसायिक सहकार्य विस्तारका लागि दुवै देशका सरकारी निकायसँग समन्वय गरिने उनले बताए। क्यानाडामा व्यवसाय सुरु गर्न चाहने नेपालीहरूलाई ‘स्टार्टअप’ प्रक्रियामा आवश्यक सहयोग, आधारभूत जानकारी र अनुभवी व्यवसायीहरूसँग नेटवर्किङको अवसर उपलब्ध गराउने योजना पनि संस्थाले अघि सारेको छ।
अध्यक्ष लामिछानेले नेपाल सरकारको विदेशमा रहेका नेपालीहरूको लगानी स्वदेश भित्र्याउने नीतिलाई समर्थन गर्दै क्यानाडामा रहेका नेपाली व्यवसायीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने दिशामा संस्थाले ठोस पहल गर्ने बताए। उनका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई मातृभूमिको आर्थिक समृद्धिसँग जोड्ने अभियानलाई आगामी कार्यकालमा प्राथमिकताका साथ अगाडि बढाइनेछ।


