सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी, व्यापारी तथा सरोकारवाला समूह आन्दोलनमा उत्रिएका छन्। सरकारले राजपत्रमार्फत भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि त्यसको विरोधमा स्थानीयस्तरमा चर्को असन्तुष्टि देखिएको हो। आन्दोलनका कारण हुलाकी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमनसमेत प्रभावित बनेको छ।
नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, स्थानीय बजार तथा राजस्व संकलनमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीय व्यापारी तथा नागरिकले आन्दोलन थालेका हुन्। उनीहरूले सरकारको निर्णयले सीमाक्षेत्रको आर्थिक गतिविधि कमजोर बन्ने र स्थानीय व्यवसाय धराशायी हुने चेतावनी दिएका छन्।
आन्दोलनकारीहरूले बिहीबार बिहानदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडक अवरुद्ध गरेका थिए। सडकको बीचभागमा बेन्च तथा विभिन्न अवरोध सामग्री राखेर उनीहरूले हुलाकी मार्ग बन्द गरेका हुन्। बिहान करिब ८ः३० बजेदेखि सुरु भएको अवरोधका कारण यात्रुवाहक बस, मालवाहक ट्रक तथा निजी सवारी साधन लामो समयसम्म सडकमा रोकिएका थिए।
स्थानीयवासीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय सीमावर्ती क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको बताएका छन्। भारतसँगको सीमावर्ती व्यापारमा उक्त भन्सार कार्यालयको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूले कार्यालय बन्द गरिए स्थानीय बजार सुनसान बन्ने दाबी गरेका छन्।
व्यापारीहरूका अनुसार सानो परिमाणमा हुने दैनिक आयात–निर्यात, कृषि उत्पादनको ओसारपसार तथा स्थानीय व्यवसाय सञ्चालनमा छोटी भन्सार कार्यालयले सहजता प्रदान गर्दै आएको थियो। कार्यालय बन्द भएपछि व्यवसायीहरूलाई टाढाका भन्सार कार्यालयमा निर्भर हुनुपर्ने अवस्था आउने र त्यसले लागत बढाउने उनीहरूको भनाइ छ।
आन्दोलनमा सहभागी स्थानीय व्यापारीहरूले सरकारले निर्णय पुनर्विचार नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनीहरूले बरियारपट्टी भन्सार पुनः सञ्चालनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। प्रदर्शनका क्रममा केही समय नाराबाजीसमेत गरिएको थियो।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाले आन्दोलन शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न पहल भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार आन्दोलनकारीसँग निरन्तर छलफल तथा समन्वय भइरहेको छ। उनले सडक खुलाउने प्रयास जारी रहेको र परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकसमेत पुगेका छन्। प्रहरी प्रशासनले स्थानीय जनप्रतिनिधि, व्यापारी तथा आन्दोलनकारीसँग संवादमार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ।
स्थानीय जनप्रतिनिधिहरूले पनि सरकारसँग निर्णय पुनर्विचार गर्न माग गरेका छन्। सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी तथा स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पर्याप्त अध्ययनबिना कार्यालय बन्द गर्ने निर्णय उपयुक्त नभएको उनीहरूको भनाइ छ।
बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयले सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक तथा प्रशासनिक बहससमेत सुरु भएको छ। स्थानीयवासीले तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका बेला सरकारले यस विषयमा के धारणा सार्वजनिक गर्छ भन्ने चासो बढेको छ।


