सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रतिनिधिसभाको नयाँ हलबाट प्रस्तुत गर्ने तयारी अघि बढाएको छ। संघीय संसद् सचिवालयले आगामी वर्षे अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी लगभग पूरा भएको जनाएको छ। संसद्को बजेट अधिवेशन आगामी वैशाख २८ गतेका लागि आह्वान भइसकेको छ।
संसद् सचिवालयका अनुसार यसपटकको बजेट भाषण सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनअन्तर्गतको प्रतिनिधिसभा हलबाट गराउने लक्ष्य राखिएको छ। नयाँ भवनको सम्पूर्ण निर्माणकार्य सम्पन्न नभए पनि प्रतिनिधिसभाको सभा कक्ष भने जेठ १५ भित्र सञ्चालनयोग्य बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको सचिवालयले जनाएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माण कम्पनीसँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै बजेट प्रस्तुतिको कार्यक्रम नयाँ हलमै सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए। उनका अनुसार प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।
“निर्माण पक्षले जेठ १५ सम्म सभा कक्ष उपलब्ध गराउन सकिने जानकारी दिएको छ,” उनले भने, “फ्लोरिङ तथा केही आन्तरिक सजावटको काम सम्पन्न हुनेबित्तिकै संसद् सचिवालयले बैठक सञ्चालनका लागि आवश्यक व्यवस्थापन मिलाउनेछ।”
सचिवालयका अनुसार सिट व्यवस्थापन ठूलो चुनौतीका रूपमा नरहेको र आवश्यक प्रविधि तथा ध्वनि प्रणाली जडानको काम पनि सँगसँगै अघि बढिरहेको छ। संसद् बैठक सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्ने गरी हल तयार पारिने बताइएको छ।
सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवनलाई आधुनिक र सुविधा सम्पन्न बनाउने उद्देश्य राखिएको छ। भवन निर्माण सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि छुट्टाछुट्टै सभा कक्ष, संसदीय समितिका बैठक कक्ष, प्रशासनिक कार्यालय तथा अन्य संरचना सञ्चालनमा आउनेछन्।
यसअघि प्रतिनिधिसभाको बैठक तथा सांसदहरूको शपथग्रहण कार्यक्रम सिंहदरबारभित्रकै बहुउद्देश्यीय हलमा अस्थायी रूपमा तयार गरिएको बैठक कक्षमा सञ्चालन गरिएको थियो। निर्वाचनपछि नयाँ सांसदहरूको शपथग्रहणदेखि विभिन्न महत्वपूर्ण बैठकहरू त्यही अस्थायी संरचनाबाट सञ्चालन भएका थिए।
संसद्को आगामी अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ। संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको आय–व्यय विवरण अर्थात् बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम तयारी तीव्र बनाइरहेको छ।
यस वर्ष सरकारले आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबल बढाउने विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ। घट्दो राजस्व, बढ्दो सार्वजनिक खर्च र आर्थिक गतिविधिमा देखिएको सुस्तताका बीच सरकारले ल्याउने बजेटलाई अर्थतन्त्र सुधारको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
नयाँ संसद् भवनको हलबाट बजेट प्रस्तुत हुने तयारीलाई संसद्को संस्थागत विकास तथा आधुनिक संसदीय अभ्यासतर्फको महत्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ। यद्यपि भवन निर्माणको सम्पूर्ण काम अझै सम्पन्न नभएकाले निर्धारित समयभित्र सभा कक्ष पूर्ण रूपमा सञ्चालनमा आउँछ वा आउँदैन भन्ने विषयमा चासो कायम छ।
संसद् सचिवालयले भने निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आगामी बजेट अधिवेशन नयाँ प्रतिनिधिसभा हलबाट सञ्चालन गर्न आफूहरू आशावादी रहेको जनाएको छ।


