नेपालमा कम्पनी दर्ता र खारेजी प्रक्रिया पहिलेको तुलनामा धेरै सहज र छिटो बनेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि समयसीमा तोकेर कार्य सम्पादन गरिरहेको जनाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय ले सेवाग्राहीलाई छिटो सेवा दिन निश्चित समयसीमा लागू गर्दै कम्पनी प्रशासनलाई प्रविधिमैत्री हुने जनाएको छ।
कार्यालयका अनुसार अब कम्पनीको नाम स्वीकृत गर्न अनलाइन निवेदन परेको एक कार्यदिनभित्र निर्णय हुने व्यवस्था गरिएको छ। नयाँ कम्पनी दर्ता पनि आवश्यक कागजातसहित आवेदन दिएपछि एक कार्यदिनमै सम्पन्न भइरहेको छ। यसअघि कम्पनी दर्ता प्रक्रियामा सात दिनसम्म लाग्ने गरेको थियो।
दर्तापछि गरिने प्रशासनिक कामहरू, जस्तै सेयर लगत अद्यावधिक, सञ्चालक परिवर्तन तथा प्रबन्धपत्र संशोधन जस्ता सेवा पनि एकदेखि तीन कार्यदिनभित्र सम्पन्न गरिने बताइएको छ। त्यस्तै कम्पनी खारेजीसम्बन्धी निर्णय पाँच कार्यदिनभित्र गर्ने व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।
कम्पनी ऐन २०६३ अनुसार नेपालमा उद्योग, व्यापार वा व्यवसाय सञ्चालन गर्न कम्पनी दर्ता अनिवार्य छ। कम्पनी स्थापना गर्न चाहनेले सबैभन्दा पहिले प्रस्तावित नाम स्वीकृतिका लागि विद्युतीय माध्यमबाट निवेदन दिनुपर्ने व्यवस्था छ। नाम स्वीकृत भएपछि संस्थापकहरूले कम्पनीको उद्देश्य, पुँजी र सञ्चालन विधिसम्बन्धी कागजात पेस गर्नुपर्छ। प्राइभेट कम्पनीका लागि कम्तीमा एक जना र पब्लिक कम्पनीका लागि सात जना संस्थापक आवश्यक हुन्छन्।
उप–रजिस्ट्रार तथा सूचना अधिकारी रामप्रसाद ज्ञवालीका अनुसार कम्पनी दर्तादेखि खारेजीसम्मका सबै सेवा अब पूर्ण रूपमा अनलाइनबाट सञ्चालन भइरहेका छन्। कार्यालयले ‘फेसलेस सेवा’ अवधारणा लागू गर्दै सेवाग्राहीको भौतिक उपस्थितिलाई लगभग अन्त्य गरेको छ।
कम्पनी बन्द गर्नुपर्ने अवस्थामा कम्पनी ऐनले स्वेच्छिक खारेजीको स्पष्ट व्यवस्था गरेको छ। कम्पनीले आफ्नो सम्पूर्ण ऋण तथा दायित्व तिर्न सक्ने अवस्थामा सेयरधनीहरूको विशेष प्रस्तावबाट खारेजी प्रक्रिया सुरु गर्न सकिन्छ। त्यसका लागि लिक्विडेटर र लेखापरीक्षक नियुक्त गरी सम्पत्ति तथा दायित्वको हिसाब मिलाउनुपर्छ। सरकारी बक्यौता, कर्मचारी पारिश्रमिक र ऋण चुक्ता गरेपछि बाँकी सम्पत्ति सेयरधनीहरूबीच बाँडफाँट गरिन्छ।
यदि कुनै कम्पनीले लामो समयसम्म कारोबार नगरेको वा लगातार तीन आर्थिक वर्षसम्म वार्षिक विवरण तथा लेखापरीक्षण प्रतिवेदन नबुझाएको पाइएमा कार्यालयले आफैं खारेजी प्रक्रिया अघि बढाउन सक्छ। यस्तो अवस्थामा कम्पनीलाई ६० दिनको स्पष्टीकरणको अवसर दिइन्छ।
कार्यालयका तथ्यांकअनुसार हालसम्म नेपालमा ३ लाख ७१ हजार ९९८ कम्पनी दर्ता भएका छन् भने २ हजार ८३५ कम्पनीको खारेजी प्रक्रिया सम्पन्न भइसकेको छ। साथै ५६ हजारभन्दा बढी नाम स्वीकृत र लाखौं डिजिटल हस्ताक्षरमार्फत पत्र जारी गरिएको कार्यालयले जनाएको छ।
कम्पनी प्रशासनलाई अझ सरल, पारदर्शी र समयसापेक्ष बनाउन कार्यालयले कम्पनी निर्देशिका संशोधन प्रक्रिया पनि अघि बढाएको छ। यसका लागि सरोकारवाला र सर्वसाधारणबाट सुझाव संकलन गरिएको कार्यालयले जनाएको छ।


