सरकारले आयातित वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा केही लचकता अपनाएपछि देशभरका प्रमुख भन्सार नाकामा देखिएको अवरोध हटेको छ। व्यवसायी र भन्सार विभागबीच सहमति भएपछि रोकिएको जाँचपास प्रक्रिया बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।
नयाँ सहमतिअनुसार आयातकर्ताले भन्सारमै वस्तुको एमआरपी स्वघोषणा गर्नुपर्नेछ। तर प्रत्येक सामानमा तत्काल लेबल टाँस्नुपर्ने बाध्यता भने हटाइएको छ। व्यवसायीले सामान आफ्नै गोदाममा लगेर एमआरपी लेबल राखेपछि मात्रै बजारमा बिक्री–वितरण गर्न पाउने व्यवस्था गरिएको छ।
यससँगै वीरगञ्ज, विराटनगर लगायत देशका मुख्य नाकाबाट रोकिएका मालसामानको जाँचपास सुरु भएको छ। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार सबै भन्सार कार्यालयलाई एमआरपी स्वघोषणाका आधारमा सामान छुटाउन निर्देशन दिइएको छ। उनका अनुसार हाललाई समस्या समाधान गरिए पनि पूर्ण कार्यान्वयनका लागि तीन महिनाको समय दिइएको छ।
भन्सार जाँचपास पुनः सुरु भएसँगै राजस्व संकलनमा पनि सुधार आएको विभागले जनाएको छ। विभागका अनुसार बुधबार मात्रै १ अर्ब ५९ करोड रुपैयाँ राजस्व उठेको छ। केही दिनदेखि भन्सारमा जाँचपास रोकिँदा राजस्व संकलनमा ठूलो गिरावट आएको थियो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० चैत २०८२ मा सूचना जारी गर्दै १५ वैशाख २०८३ देखि एमआरपी उल्लेख भएका सामान मात्रै जाँचपास हुने व्यवस्था लागू गरेको थियो। तर व्यवसायीहरूले भन्सार नाकामै प्रत्येक सामानमा लेबल लगाउनु व्यावहारिक नभएको भन्दै विरोध जनाएका थिए।
भन्सारमा हजारौं ट्रक रोकिँदा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार ट्रक भाडा, बैंक ब्याज, एलसी म्याद सकिने समस्या र सामान बिग्रिने जोखिमले व्यवसायीहरू मारमा परेका थिए। वीरगञ्ज नाकामा मात्रै करिब दुई हजार ट्रक रोकिएको उनले बताए।
व्यवसायीहरूले अहिलेको नियमलाई जस्ताको तस्तै कार्यान्वयन गर्न कठिन हुने बताएका छन्। उनीहरूले वस्तुको प्रकृति अनुसार फरक–फरक प्याकेजिङ र लेबलिङ व्यवस्था हुनुपर्ने माग राखेका छन्। कच्चापदार्थ र तयारी वस्तुमा एउटै नियम लागू गर्दा लागत बढ्ने र तस्करीको जोखिम समेत बढ्न सक्ने उनीहरूको तर्क छ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बजारमा बिक्री हुने वस्तुमा उत्पादकको नाम, मूल्य, उत्पादन मिति, ब्याच नम्बर लगायत विवरणसहित लेबल अनिवार्य गरिएको छ। आयातित वस्तुमा यस्तो लेबल राख्ने जिम्मेवारी आयातकर्ताकै हुने कानुनी व्यवस्था छ।
सरकारले तत्कालका लागि व्यावहारिक समाधान खोजे पनि आगामी आर्थिक वर्षको बजेट वा आर्थिक ऐनमार्फत एमआरपी सम्बन्धी व्यवस्था थप स्पष्ट र व्यवस्थित बनाउने तयारी गरेको छ। व्यवसायीहरूले पनि यही अवधिमा कानुनी संशोधन र व्यावहारिक सुधारको पहल हुने अपेक्षा गरेका छन्।


