अमेरिकाले नेपाल ‘ए’विरुद्धको एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अब नेपाल ‘ए’ ले जितका लागि २६३ रनको लक्ष्य पछ्याइरहेको छ ।
अमेरिकाको इनिङ्समा ओपनर स्मित पटेल नायक बने । उनले संयमित र आक्रामक ब्याटिङको उत्कृष्ट मिश्रण प्रस्तुत गर्दै शतकीय पारी खेले । १०७ बल सामना गरेका उनले १० चौका र ५ छक्काको मद्दतमा ११६ रन जोडे । नेपाल ‘ए’ का बलरमाथि सुरुदेखि दबाब बनाएका स्मितले मध्यक्रमलाई मजबुत आधार प्रदान गरेका थिए ।
अमेरिकाले सुरुआती ओभरमा केही दबाब झेले पनि स्मित पटेलको उत्कृष्ट इनिङ्सका कारण टोली ठूलो स्कोरतर्फ अघि बढ्न सफल भयो । कप्तान मोनाङ्क पटेल ले २० रन बनाएर साथ दिए भने शायन जहाँगिर ९ रनमा आउट भए ।
मध्यक्रममा सैतेजा मुक्कामल्लाले १० रन तथा मिलिन्द कुमारले ७ रन बनाए । शुभम रञ्जनेले १६ रन जोड्दा सञ्जय कृष्णमुर्तीले १५ रनको योगदान दिए । अमेरिकाले बीचका ओभरमा लगातार विकेट गुमाए पनि अन्त्यतिर हरमित सिंह र जसदीप सिंहले उपयोगी साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।
हरमित सिंह २५ रनमा अविजित रहे भने जसदीप सिंह ले ३३ रनको अविजित पारी खेले । दुवैले अन्तिम ओभरहरूमा तीव्र गतिमा रन जोड्दै अमेरिकालाई २६० रन पार गराएका थिए । शेहान जयसूर्याले ७ रन बनाए ।
नेपाल ‘ए’का बलरहरूले सुरुआती चरणमा अनुशासित प्रदर्शन गरे पनि स्मित पटेलको लामो इनिङ्स रोक्न सकेनन् । स्पिनर पवन सर्राफ ले दुई विकेट लिएर नेपालका सबैभन्दा सफल बलर बने । उनले अमेरिकाको रनगति नियन्त्रण गर्ने प्रयास गरेका थिए ।
त्यस्तै विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक–एक विकेट हात पारे । नेपालका बलरहरूले बीचमा केही महत्वपूर्ण विकेट निकालेर अमेरिकालाई ठूलो स्कोरबाट रोक्ने प्रयास गरे पनि अन्तिम ओभरमा रन खर्चिन पुगे ।
मुलपानी मैदानमा २६३ रनको लक्ष्य सामान्य मानिए पनि दबाबपूर्ण अवस्थामा लक्ष्य पछ्याउनु नेपाल ‘ए’का लागि चुनौतीपूर्ण रहने देखिएको छ । घरेलु समर्थकमाझ खेलिरहेको नेपाल ‘ए’ ले राम्रो सुरुआत गर्न सके खेल आफ्नो पक्षमा पार्न सक्ने सम्भावना रहेको क्रिकेट विश्लेषकहरूको भनाइ छ ।
खेल जारी रहँदा नेपाल ‘ए’ अहिले जवाफी ब्याटिङमा रहेको छ । टोलीका शीर्ष ब्याटरहरूले जिम्मेवारीपूर्ण प्रदर्शन गर्न सके अमेरिकामाथि रोमाञ्चक जित निकाल्ने अपेक्षा गरिएको छ ।


