Banijya News

ट्रेड युनियन विवादमा सर्वोच्चको हस्तक्षेप : सरकारको निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश

1
1.1K Shares

 

सर्वोच्च अदालत को संवैधानिक इजलासले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमाथि तत्कालका लागि रोक लगाएको छ। बहुमत न्यायाधीशको आदेशअनुसार सरकारले अध्यादेशमार्फत गरेको व्यवस्था कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतले सोमबार सरकारको निर्णय रोक्ने आदेश दिएको हो। साथै, सरकारलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न र आगामी जेठ ६ गते छलफलका लागि उपस्थित हुन पनि आदेश गरिएको छ।

सरकारले गत वैशाख २० गते जारी गरेको “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” मार्फत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन सम्बन्धी व्यवस्था हटाएको थियो। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख २२ गते ट्रेड युनियनका कार्यालय बन्द गर्ने सूचना जारी गरेको थियो भने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैशाख २३ गते ट्रेड युनियन खारेज गर्ने निर्णय सार्वजनिक गरेको थियो।

बहुमत न्यायाधीशले उक्त व्यवस्था संविधानले सुनिश्चित गरेको संघ संस्था खोल्ने स्वतन्त्रता र ट्रेड युनियनको हकसँग जोडिएको भन्दै तत्काल कार्यान्वयन रोक्न आवश्यक देखिएको उल्लेख गरेका छन्। आदेशमा संविधानको धारा १७ र धारा ३४ अन्तर्गतको ट्रेड युनियन अधिकारलाई विशेष रूपमा व्याख्या गरिएको छ।

तर, संवैधानिक इजलासमा रहेका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले भने फरक मत राखेका छन्। उनीहरूले तत्काल अपूरणीय क्षति हुने अवस्था नदेखिएको भन्दै सरकारलाई छलफलमा बोलाएर मात्रै निर्णय गर्नुपर्ने राय दिएका छन्। अध्यादेश संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको र संसद अधिवेशन आह्वान भइसकेकाले विषयमा थप बहस आवश्यक रहेको उनीहरूको धारणा छ।

सरकारको निर्णयविरुद्ध नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका प्रतिनिधिहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा अध्यादेशमार्फत ट्रेड युनियनको सामूहिक सौदाबाजी तथा प्रतिनिधित्व गर्ने संवैधानिक अधिकार कुण्ठित गरिएको दाबी गरिएको छ।

अब सर्वोच्च अदालतमा हुने आगामी सुनुवाइले निजामती कर्मचारी ट्रेड युनियनको भविष्य र अध्यादेशको संवैधानिक वैधताबारे महत्वपूर्ण निर्णय दिने अपेक्षा गरिएको छ।

1

Scroll to Top