रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) पछिल्लो समय उद्योगीहरूको रोजाइमा पर्न थालेको छ। लामो समयसम्म अपेक्षित रूपमा सञ्चालनमा आउन नसकेको सेज अहिले भने सरकारी नीतिगत सुधार, सहुलियत र उद्योगमैत्री वातावरणका कारण क्रमशः सक्रिय बन्दै गएको हो।
सेज कार्यालय भैरहवाका प्रमुख इन्जिनियर सपुत डुम्रे का अनुसार हाल २१ वटा उद्योगले स्थापना अनुमति लिएका छन्। तीमध्ये १२ वटा उद्योग सञ्चालनमा छन् भने ६ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। एउटा उद्योग बन्द अवस्थामा छ भने थप दुई उद्योगले छिट्टै निर्माण सुरु गर्ने तयारी गरिरहेका छन्।
हाल निर्माण भइरहेका उद्योगहरूमा स्पोर्ट इलेक्ट्रिक प्रालि, इरिगेसन मेटल क्राफ्ट प्रालि, डाटा वर्ल्ड प्रालि, डीएलएल ग्लोबल प्रालि र अलमाइटी ओभरसिज नेपाल प्रालि लगायत रहेका छन्। यी उद्योगहरूले इलेक्ट्रिक सामग्री, स्टिल तथा धातुजन्य वस्तु, डेटा सेन्टर सेवा तथा सुन–चाँदीका गहना उत्पादन गर्ने लक्ष्य लिएका छन्।
सरकारले उद्योग प्रवर्द्धनका लागि भाडादर घटाउनेदेखि निर्यातसम्बन्धी नियमहरू सहज बनाउनेसम्मका सुधार लागू गरेपछि उद्योगीहरूको आकर्षण बढेको बताइएको छ। सुरुमा प्रतिवर्गमिटर १५० रुपैयाँ रहेको भाडा अहिले घटाएर २० रुपैयाँमा झारिएको छ, जसले लगानीकर्तालाई थप प्रोत्साहन दिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य हरिप्रसाद अर्याल ले विगतमा महँगो भाडा र अनिवार्य निर्यातजस्ता कडा प्रावधानका कारण उद्योगीहरू आकर्षित हुन नसकेको उल्लेख गरे। तर पछिल्लो समय ती नीतिहरूमा सुधार हुँदै जाँदा उद्योग स्थापना गर्ने क्रम बढ्दै गएको उनको भनाइ छ।
उत्पादनसँगै निर्यातमा पनि उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको उत्पादन भएकोमा करिब ६० प्रतिशत निर्यात भएको थियो। त्यसपछि २०८१/८२ मा उत्पादन झन्डै दोब्बरले बढेर १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी उत्पादन र ८५ करोड रुपैयाँभन्दा बढी निर्यात भइसकेको छ।
५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ औद्योगिक प्लट रहेका छन्। २०७३ सालबाट उद्योग स्थापना सुरु भएको यस क्षेत्रमा २०७६ सालमा पहिलोपटक उत्पादन बजारमा पुगेको थियो। हाल यहाँबाट उत्पादित सामग्री मुख्यतः भारततर्फ निर्यात हुँदै आएको छ।


