भारतले चिया आयातमा ट्रकपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) लागू गरेपछि नेपाली चियाको निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा ठप्प भएको छ। भारतको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ वैशाख १८ देखि लागू भएसँगै नेपाली निर्यातकर्ताले ठूलो प्रशासनिक र आर्थिक अवरोधको सामना गर्नुपरेको हो ।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा भए पनि नयाँ नियमका कारण एक पोका चिया पनि भारत पठाउन सकिएको छैन। “यो चिया निर्यातको मुख्य सिजन हो, तर व्यवसायीहरू जोखिमका कारण निर्यात गर्न सकिरहेका छैनन्,” उनले बताए ।
यसअघि एउटा उद्योगले एकपटक ल्याब परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै निर्यात गर्न सक्थ्यो । तर नयाँ व्यवस्थाअनुसार काँकडभिट्टा नाका हुँदै भारतको पानीट्ङ्की भन्सार प्रवेश गरेपछि प्रत्येक ट्रकबाट नमुना लिएर भारत सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गराउनुपर्ने भएको छ ।
प्रत्येक ट्रकको परीक्षणका लागि करिब १८ हजार रुपैयाँ शुल्क लाग्ने र प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने बताइएको छ । अझ गम्भीर कुरा, यदि परीक्षण प्रतिकूल आएमा चिया जफत गरिने र बजारमा बिक्री वा अन्य देशमा निर्यातसमेत गर्न नपाइने प्रावधान राखिएको छ । यसले व्यवसायीहरूलाई थप जोखिममा पारेको छ ।
व्यवसायीहरूका अनुसार यस्तो प्रावधानले निर्यात प्रक्रियालाई अव्यावहारिक बनाएको छ । पानीट्ङ्की क्षेत्रमा लामो समय ट्रक रोकेर राख्न पर्याप्त पार्किङ र पूर्वाधारसमेत नभएको गुनासो छ । यसले लागत वृद्धि र गुणस्तरमा समेत असर पार्ने चिन्ता व्यक्त गरिएको छ ।
नेपाली चियाको प्रमुख बजार भारत नै भएकाले यस्तो गैरभन्सार अवरोधले वार्षिक ५–६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष असर पार्ने देखिएको छ । चिया क्षेत्रमा आश्रित किसान, उद्योगी र करिब एक लाख श्रमिकको रोजगारीसमेत संकटमा पर्ने अवस्था आएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ भने हाल १७० ठूला र १२० साना तथा मझौला बगान सञ्चालनमा छन ्। १५ हजारभन्दा बढी किसान यस क्षेत्रमा प्रत्यक्ष संलग्न छन् ।
चिया उत्पादक सङ्घले तत्काल नेपाल र भारतबीच सरकारी स्तरमा (जिटुजी) संवाद गरी समस्या समाधान गर्न आग्रह गरेको छ । उनीहरूका अनुसार यदि यो नीति संशोधन नभए नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुन सक्ने खतरा रहेको छ ।


