बुद्धएयरले करिब पाँच वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगञ्ज–पोखरा सिधा उडान अस्थायी रूपमा स्थगित गरेको छ। कम्पनीका अनुसार यात्रु संख्या घट्नु, विशेषगरी भारतबाट आउने धार्मिक पर्यटकको अभाव र इन्धन मूल्यमा भएको वृद्धिका कारण उडान केही समयका लागि रोकिएको हो।
बुद्ध एयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहका अनुसार एक महिना लामो मलमास परेकाले भारतीय धार्मिक पर्यटकको आवागमन निकै घटेको छ। यसले उडानमा यात्रुको चाप कम बनाएको छ। त्यसमाथि बढ्दो इन्धन लागतले सञ्चालन खर्च उच्च बनेपछि उडानलाई अस्थायी रूपमा स्थगन गर्नुपरेको उनले बताए। प्रारम्भिक रूपमा एक महिनाका लागि भनिए पनि अवस्था सुधार नभएसम्म उडान पुनः सुरु हुने मिति अनिश्चित देखिएको छ।
वि.सं. २०७८ साउन १७ गतेदेखि सुरु भएको यो सिधा हवाई सेवा सातामा तीन दिन सञ्चालन हुँदै आएको थियो। पर्यटन प्रवर्द्धन र पश्चिम नेपाललाई पोखरासँग हवाई माध्यमबाट जोड्ने उद्देश्यले सुरु गरिएको सेवा मंगलबारदेखि औपचारिक रूपमा बन्द गरिएको हो।
उडान स्थगनसँगै पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारणमा निराशा छाएको छ। सिधा हवाई सेवा बन्द भएपछि अब यात्रुहरूलाई पुनः लामो र कठिन सडक यात्रामा निर्भर हुनुपर्ने भएको छ। नेपालगञ्जदेखि पोखरासम्मको यात्रा सडकमार्गबाट कम्तीमा १४ घण्टा लाग्ने गर्दछ, जुन यात्रुका लागि समय र श्रम दुवै हिसाबले चुनौतीपूर्ण मानिन्छ।
एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जको पहलमा सुरु भएको उक्त सेवा स्थानीय पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको थियो। नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित उडान स्थगित गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै यसको भविष्य अनिश्चित देखिएको बताए। उनका अनुसार निजी क्षेत्रको अग्रसरतामा सुरु भएको यस्तो सेवा निरन्तरता दिन सरकारी पहल आवश्यक भए पनि अपेक्षित सहयोग नपाएको गुनासो छ।
यो उडान सञ्चालन हुँदा पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा उल्लेखनीय चहलपहल बढेको थियो। पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी तथा रारा क्षेत्रसम्म पुग्न सहज भएको थियो। साथै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि पोखरा भ्रमणमा सुविधा पुगेको थियो।
उडान सुरु हुँदा न्यूनतम भाडा ४,९३५ रुपैयाँदेखि अधिकतम ७,६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो। यात्रुको माग बढ्दै गएपछि दैनिक उडान विस्तार गर्ने योजना समेत बनाइएको थियो। तर पछिल्लो समय इन्धन मूल्य वृद्धिसँगै भाडादर समायोजन हुँदा यात्रु संख्या घट्न थालेको र त्यसले सेवा सञ्चालनमा असर पारेको कम्पनीले जनाएको छ।
यस उडानका लागि १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाज प्रयोग हुँदै आएको थियो। छोटो दूरीमा छिटो सेवा दिने यो जहाजले नेपालगञ्ज–पोखरा बीचको दूरी करिब ३५ मिनेटमै पार गर्दै आएको थियो।


