काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को समग्र सुधारका लागि ९ बुँदे निर्देशन जारी गरेको छ । मन्त्री गीता चौधरीले संस्थानको व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन उद्देश्य राख्दै उक्त निर्देशन सार्वजनिक गरेकी हुन् । मन्त्रालयका अनुसार पछिल्लो समय डीडीसीको कार्यसम्पादनमा देखिएको कमजोरी, आर्थिक अनुशासनको अभाव तथा सेवा प्रवाहमा आएको सुस्तताले सुधारको आवश्यकता देखिएको छ । यही सन्दर्भमा मन्त्रालयले ठोस कदम चाल्दै संस्थानलाई निश्चित समयसीमा भित्र सुधारका काम सम्पन्न गर्न निर्देशन दिएको हो ।
जारी निर्देशनअनुसार डीडीसीले विगत पाँच वर्षको दूध संकलन, बिक्री वितरण तथा आम्दानी–खर्चको विस्तृत विवरण १५ दिनभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ । साथै, अबदेखि प्रत्येक महिनाको विवरण अर्को महिनाको सात दिनभित्र अनिवार्य रूपमा मन्त्रालयमा बुझाउने व्यवस्था मिलाउन भनिएको छ । त्यसैगरी, संस्थानले उठाउन बाँकी रहेको बक्यौता रकम एक महिनाभित्र कानुनी प्रक्रिया अनुसार असुल गर्नुपर्ने र त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्ने निर्देशनमा उल्लेख छ । आर्थिक पारदर्शिता कायम गर्न लेखा प्रणाली, बिलिङ प्रणाली तथा सम्पूर्ण कारोबारलाई व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले विशेष जोड दिएको छ ।
निर्देशनको तेस्रो बुँदामा दूध संकलनदेखि बिक्री वितरणसम्मका सम्पूर्ण प्रक्रियालाई तीन महिनाभित्र विद्युतीय अभिलेखीकरणमा ल्याउन भनिएको छ । नेपाल सरकारले स्वीकृत गरेको १०० बुँदे सुधार कार्यक्रमअनुसार सबै प्रणालीलाई डिजिटल बनाउने लक्ष्य राखिएको छ । यसैगरी, संस्थानमा कार्यरत कर्मचारी तथा कामदारका लागि अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणाली लागू गरिनेछ । विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामात्र तलब तथा अतिरिक्त भुक्तानी दिन पाइने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
मन्त्रालयले कर्मचारीलाई प्रचलित कानुनअनुसारको सुविधामात्र उपलब्ध गराउन र उनीहरूका लागि आचारसंहिता लागू गर्न पनि जोड दिएको छ । अनुशासन कायम गर्न कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।त्यस्तै, संस्थानको सम्पूर्ण भौतिक सम्पत्तिको अभिलेख अद्यावधिक गरी त्यसको व्यावसायिक उपयोगका लागि योजना तयार गर्न भनिएको छ । यसले संस्थानको आयवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कर्मचारी व्यवस्थापनतर्फ पनि मन्त्रालयले नयाँ व्यवस्था अघि सारेको छ । प्रत्येक कर्मचारीलाई स्पष्ट लक्ष्यसहित कार्य विवरण दिइनेछ र सोही आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिनेछ । मुख्य कार्यसम्पादन सूचक (प्एक्ष्) निर्धारण गरी जिम्मेवारी बाँडफाँट गर्नुपर्ने निर्देशनमा उल्लेख छ । त्यसैगरी, संस्थानका सबै कामहरूको प्रक्रिया अभिलेखीकरण गरी बिजनेस प्रोसेस रिइन्जिनियरिङ (द्यएच्) तयार गर्न भनिएको छ । यसले काम गर्ने तरिकामा सुधार ल्याई प्रभावकारिता बढाउने विश्वास मन्त्रालयले लिएको छ ।
निर्देशनको अन्तिम बुँदामा डीडीसी अन्तर्गतका वितरण आयोजना तथा उत्पादन केन्द्रहरूलाई नाफामुखी बनाउने लक्ष्य दिइएको छ । दूध संकलन र दुग्ध पदार्थ बिक्रीको स्पष्ट लक्ष्य निर्धारण गरी सोही आधारमा कर्मचारीको मूल्याङ्कन गर्ने व्यवस्था लागू गरिनेछ । मन्त्रालयले यी निर्देशनहरू समयमै कार्यान्वयन भएमा डीडीसीको सेवा गुणस्तर, आर्थिक अवस्था र व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ ।
यस्तो छ निर्देशन
१. विगत पाँच वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्यांक तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेश गर्ने र प्रत्येक महिनाको मासिक विवरण अर्को महिनाको सात दिनभित्र मन्त्रालयमा पठाउने व्यवस्था मिलाउने ।
२. संस्थानले असुल गर्नुपर्ने बक्यौता रकम प्रचलित कानुन बमोजिम असुल गरी एक महिना भित्र मन्त्रालयलाई जानकारी दिने ।
३.दूध संकलनदेखि दुग्ध पर्दाथ बिक्री वितरण, बिलिङ्ग प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको १०० बुँदे सुधारका बुँदा बमोजिम तीन महिनाभित्र विद्युतीय अभिलेखीकरणमा आबद्ध गर्ने ।
४. संस्थानमा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारको अनिवार्य विद्युतीय हाजिरी गराउने र त्यस्तो विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढी समयका लागि गरिने भुक्तानी प्रदान गर्ने ।
५. प्रचलित कानूनले तोके बमोजिमको सुविधामात्र दिने प्रबन्ध मिलाउने र कर्मचारी तथा कामदारका लागि आचारसंहिता जारी गरी कडाइका साथ लागु गर्ने ।
६. संस्थानको भौतिक सम्पतिको लगत अद्यावधिक गरी त्यसको व्यावसायिक योजना बनाउने ।
७. प्रत्येक कर्मचारीलाई लक्ष्यसहित कार्य सम्पादन विवरण दिने व्यवस्था तथा कार्यविवरण बमोजिम मूल्याङ्कनको सूचकाङ्क तयार गरी मूल्याङ्कन हुने व्यवस्था गर्ने तथा मुख्य कार्यसम्पादन सूचक दिइ कार्य जिम्मेवारी तोक्ने ।
८. संस्थानले आफूले गर्ने र अरूबाट गराउने कामको सूची तथा कार्य सम्पादनको फ्लो र प्रक्रिया अभिलेखाङ्कित गरी बिजनेस प्रोसेस रिइन्जिनियरिङ्ग तयार गरी त्यसमा गर्न सकिने सुधार गरी सुधारको विवरण मन्त्रालयमा पठाउने ।
९. दुग्ध विकास संस्थान अन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुख लगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहने गरी दूध संकलन तथा दूग्ध पदार्थको बिक्री वितरण सम्बन्धी कारोबारको लक्ष्य दिई त्यसका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था गर्ने ।


