Banijya News

रास्वपा बाराको विस्तारित बैठकमा विवाद, झडपपछि सांसदहरूलाई सुरक्षा घेरामा बाहिर निकालियो

1
1.0K Shares

बारामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शनिबार तनावग्रस्त बनेपछि पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा सतहमा आएको छ। कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजना गरिएको बैठकमा दुई पक्षबीच चर्को विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनापछि पार्टीका चार जना सांसदलाई सुरक्षाकर्मीको सुरक्षा घेरामा बैठकस्थलबाट बाहिर निकालिएको थियो।

बैठकमा सहभागी पुराना तथा संस्थापक कार्यकर्ताले पार्टी नेतृत्वमाथि संगठन विस्तारमा योगदान दिएका कार्यकर्तालाई पाखा लगाएको आरोप लगाएका छन्। संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका कार्यकर्ताले जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई संगठनबाट बाहिर राख्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। साथै, आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टिकट पहिले नै बिक्री गरिएको आरोप उठेपछि विवाद थप चर्किएको बताइएको छ।

विवाद बढ्दै जाँदा स्थिति हातपातसम्म पुगेको थियो। झडपमा महागढीमाई नगर सभापति बिक्रम यादव, सिम्रौनगढ नगर सभापति साहेब अन्सारीसहित तीन जना घाइते भएका छन्। घाइतेहरूको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उपचाररत महागढीमाई नगर सभापति बिक्रम यादवले सांसद अरविन्द साहले आफ्नो हात समातेर बाहिरबाट ल्याइएका व्यक्तिमार्फत आफूलाई कुटपिट गराएको आरोप लगाएका छन्।

संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारका अनुसार बैठकमा पुराना र संस्थापक कार्यकर्तामाथि हातपात भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। उनका अनुसार पार्टीमा पछिल्लो समय नयाँ प्रवेश गरेका समूहले कार्यसमितिमा कब्जा जमाउने प्रयास गरेको र लामो समयदेखि संगठन निर्माणमा खटिएका कार्यकर्तालाई योजनाबद्ध रूपमा किनारा लगाइएको छ।

पार्टीभित्रको विवाद केही समयदेखि बढ्दै गएको बताइएको छ। संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरिएपछि जिल्लाका पुराना पदाधिकारी र सांसदहरूबीच सम्बन्ध चिसिएको थियो। यही विवाद समाधान गर्न केन्द्रबाट प्रतिनिधि कामनी चौधरीलाई पठाएर विस्तारित बैठक आयोजना गरिएको भए पनि बैठक नै विवादमा परिणत भएको हो।

तनाव बढेपछि सुरक्षाकर्मीले बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का सांसद चन्दन सिंह, बारा–३ का सांसद अरविन्द साह, बारा–४ का सांसद रहबर अन्सारी तथा केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षा घेराभित्र राखेर बैठकस्थलबाट बाहिर निकालेका थिए। आक्रोशित कार्यकर्ताले उनीहरूमाथि हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यद्यपि, बैठकस्थलबाट बाहिरिएपछि सांसदहरूले कलैयास्थित बरेवा दरबार होटलमा पत्रकार सम्मेलन गर्दै घटनाको खण्डन गरेका छन्। सांसद गणेश धिमाल, चन्दन सिंह र अरविन्द साहले बैठकमा कुनै अप्रिय घटना नभएको दाबी गर्दै सञ्चारमाध्यममा आएका समाचारलाई अतिरञ्जित र अपवाहपूर्ण बताएका छन्। उनीहरूले आफूहरूमाथि कुनै कुटपिट नभएको तथा बैठक शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन्।

घटनाले रास्वपा बाराभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्व विवादलाई सार्वजनिक रूपमा उजागर गरेको छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र देखिएको गुटगत तनावले संगठनात्मक एकतामाथि प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

1

Scroll to Top