Banijya News

बजेटप्रति निजी क्षेत्र उत्साहित, कार्यान्वयनमा ध्यान दिनुपर्ने महासंघ अध्यक्ष श्रेष्ठको सुझाव

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति समग्रमा सकारात्मक प्रतिक्रिया जनाउँदै कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेपछि सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले बजेटले धेरै विषयलाई सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे।

अध्यक्ष श्रेष्ठले प्रारम्भिक रूपमा बजेट सुन्दा निजी क्षेत्र उत्साहित देखिएको भए पनि विस्तृत अध्ययन गर्न अझै बाँकी रहेको बताए। ‘समग्र बजेट सुन्दा हामी उत्साहित छौं, तर यसको डिटेल्स हेर्न अझै बाँकी छ,’ उनले भने, ‘सरकारले विभिन्न क्षेत्रका समस्याहरू सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ।’

उनले बजेटमा करका दर घटाउने संकेत देखिएको उल्लेख गर्दै यसले निजी क्षेत्रलाई केही राहत मिल्ने अपेक्षा व्यक्त गरे। कर प्रणालीलाई सहज बनाउने प्रयासले व्यवसायिक वातावरण सुधार गर्न सहयोग पुग्ने उनको धारणा थियो।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ अनुदान मोडालिटी ल्याउने प्रयास गरिएको पनि उनले बताए। ‘कृषिलाई प्रोत्साहन गर्ने कुरा आएको छ, अनुदान वितरणको नयाँ मोडालिटी ल्याउन खोजिएको देखिन्छ,’ उनले भने, ‘यसले कृषि उत्पादन र आत्मनिर्भरता बढाउन सहयोग गर्न सक्छ।’

त्यस्तै, पूर्वाधार विकासमा पनि सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे। सडक, ऊर्जा, शहरी विकासलगायत क्षेत्रमा गरिने लगानीले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै उनले पूर्वाधार विकासलाई दीर्घकालीन आर्थिक वृद्धिको आधारका रूपमा व्याख्या गरे।

अध्यक्ष श्रेष्ठले वर्तमान सरकारको राजनीतिक स्थायित्वलाई पनि सकारात्मक रूपमा हेरेका छन्। दुई तिहाइको बहुमत भएको सरकार भएकाले विगतका जस्तो अस्थिरता नहुने र नीतिगत निर्णयहरू कार्यान्वयनमा सहजता आउने अपेक्षा उनले व्यक्त गरे।

‘अहिलेको सरकार बहुमतको अवस्थामा छ, यसले विगतका भन्दा अलि सिरियस भएर काम गर्ने संकेत देखिएको छ,’ उनले भने, ‘पहिलेका सरकारहरू मिलिजुली प्रकृतिका थिए, अहिले एउटै सरकार भएकाले आफ्नो प्रतिबद्धता पूरा गर्ने सम्भावना बढी छ।’

उनले विगतमा बजेटमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा कमजोर रहेको अनुभव दोहोर्‍याउँदै यसपटक सरकारले घोषणा गरेका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। ‘प्रतिबद्धता गर्नु मात्रै होइन, त्यसलाई कार्यान्वयनमा लैजानु सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ उनले भने।

अध्यक्ष श्रेष्ठले यदि सरकारले बजेटमा उल्लेख गरिएका योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सके मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता हट्ने र पुनर्जागरणको अवस्था सिर्जना हुन सक्ने विश्वास व्यक्त गरे।

1

Scroll to Top