Banijya News

हिमालयन बैंकद्वारा युनियनपे आरएमबी कार्ड सेवा सुरु, चीन भ्रमणमा सहज भुक्तानी सुविधा

1
1.0K Shares

हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि युनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीनको प्रतिष्ठित कार्ड ब्रान्ड UnionPayसँगको सहकार्यमा नेपालमै पहिलो पटक यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ। यसले विशेषगरी चीन भ्रमण गर्ने नेपालीहरूलाई सहज र सुलभ भुक्तानी सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

बैंकका अनुसार, युनियनपे आरएमबी कार्ड प्रयोगकर्ताले चीनमा रहेका एटीएम, पीओएस मेसिन, क्यूआर कोड तथा इ–कमर्स प्लेटफर्ममार्फत हुने कारोबारहरू सिधै चिनियाँ मुद्रा (सीएनवाई)मा गर्न सक्नेछन्। यसले विदेशी मुद्रा साटफेरको झन्झट कम गर्नुका साथै अन्य कार्ड वा भुक्तानी माध्यमको तुलनामा मितव्ययी र सर्वस्वीकार्य विकल्प प्रदान गर्ने विश्वास गरिएको छ।

यो सेवा विशेषगरी विद्यार्थी, व्यवसायी, पर्यटक तथा संस्थागत भ्रमण गर्ने व्यक्तिहरूलाई लक्षित गरिएको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले तोकेको सीमाभित्र रही ग्राहकहरूले आफ्नो कार्डमा रकम लोड गर्न सक्नेछन्। त्यसपछि Alipay+, WeChat Pay तथा निहाओ चाइना जस्ता युनियनपे सञ्जालसँग आबद्ध डिजिटल माध्यममार्फत सजिलै चिनियाँ युआनमा भुक्तानी गर्न सकिनेछ।

यस कार्डले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै अन्तर्राष्ट्रिय यात्रामा नेपाली ग्राहकहरूको अनुभवलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ। चीनमा डिजिटल भुक्तानी प्रणाली अत्यधिक प्रचलित रहेको सन्दर्भमा यस्तो कार्ड सेवाले नेपाली प्रयोगकर्तालाई स्थानीय प्रणालीसँग सहज रूपमा जोड्ने विश्वास बैंकले व्यक्त गरेको छ।

उक्त सेवाको औपचारिक शुभारम्भ काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा आयोजित कार्यक्रममा गरिएको थियो। कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा युनियनपे इन्टरनेशनलका उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा सेवा उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिहरूले यस सेवाले नेपाल–चीन आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। साथै, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा नेपालको पहुँच विस्तार गर्न पनि यसले योगदान पुर्‍याउने धारणा राखिएको छ।

1

Scroll to Top