नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि बहसमा रहँदै आएको नेपाल विद्युत् प्राधिकरण को ‘अनबन्डलिङ’ अर्थात् खण्डीकरणको मुद्दा फेरि एकपटक निर्णायक मोडमा पुगेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापार गरी चारवटा अलग–अलग कम्पनीमा विभाजन गर्ने घोषणा गरेसँगै यस विषयमा नीति, राजनीति र प्राविधिक तहमा तीव्र बहस सुरु भएको हो ।
सरकारले प्रस्तुत गरेको अवधारणाअनुसार ऊर्जा क्षेत्रलाई प्रतिस्पर्धी, पारदर्शी र प्रभावकारी बनाउन संस्थागत संरचना पुनःपरिभाषित गर्न आवश्यक ठानिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत यस्तो संरचनात्मक सुधार अपरिहार्य भएको उल्लेख गरेका छन् । उनका अनुसार एउटै संस्थाभित्र सबै काम केन्द्रित हुँदा कार्यक्षमता घट्ने, निर्णय प्रक्रिया जटिल हुने र बजार प्रतिस्पर्धा सीमित हुने समस्या देखिएको छ ।
विद्युत् प्राधिकरणको अनबन्डलिङ नयाँ अवधारणा भने होइन। करिब दुई दशकअघि नै विद्युत् ऐन संशोधनको सन्दर्भमा उत्पादन, प्रसारण र वितरणलाई छुट्टाछुट्टै निकायमार्फत सञ्चालन गर्ने प्रस्ताव आएको थियो। त्यसबेला पनि मुख्य तर्क एउटै थियो—एकीकृत संरचनाले प्रतिस्पर्धा घटाउँछ र दक्षता सीमित बनाउँछ । तर त्यतिबेला राजनीतिक अस्थिरता, प्रशासनिक जटिलता र संस्थाभित्रकै प्रतिरोधका कारण प्रस्ताव कार्यान्वयनमा जान सकेन। नीति दस्तावेजमै सीमित भएको उक्त अवधारणा बीच–बीचमा पुनः उठ्ने र पुनः हराउने क्रममै रह्यो।
ऊर्जा संकट र लोडसेडिङको चरम अवस्थाबीच २०६७÷६८ सालतिर भने प्राधिकरणले केही व्यावहारिक प्रयोग ग¥यो। चिलिमे, माथिल्लो तामाकोशीलगायत जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत सञ्चालन गरिए। यद्यपि, त्यो पूर्ण अनबन्डलिङ नभई व्यवस्थापन सुधारको सीमित अभ्यास मात्र थियो ।
पछिल्लो दशकमा विद्युत् क्षेत्रमा देखिएको सबैभन्दा ठूलो परिवर्तन भने लोडसेडिङ अन्त्य हो। यसले प्राधिकरणको कार्यसम्पादनप्रति सकारात्मक धारणा निर्माण ग¥यो। पूर्व नेतृत्व, विशेषगरी सुधारमुखी व्यवस्थापनले एकीकृत संरचनाभित्रै दक्षता सम्भव भएको उदाहरण प्रस्तुत गरे । यही कारणले केही ऊर्जा विज्ञ र पूर्व अधिकारीहरूले अनबन्डलिङ आवश्यक नभएको तर्क अघि सारे। उनीहरूका अनुसार सुधारिएको संस्थालाई विभाजन गर्नु जोखिमपूर्ण हुन सक्छ। उनीहरूको भनाइमा, अहिलेको सफलता एकीकृत संरचनाकै परिणाम हो, जसले समन्वयलाई सहज बनाएको छ । तर अर्को पक्षले भने यसलाई दीर्घकालीन समाधान नमान्ने धारणा राख्दै आएको छ। ऊर्जा उत्पादन बढ्दै जाँदा, निजी क्षेत्रको संलग्नता विस्तार हुँदै जाँदा र क्षेत्रीय ऊर्जा व्यापारको सम्भावना बढ्दै जाँदा आधुनिक संरचना आवश्यक भएको उनीहरूको तर्क छ।
यसपटक सरकारले केवल बहस मात्र होइन, कार्यान्वयनको स्पष्ट संकेत दिएको छ। बजेटमा अनबन्डलिङसँगै अन्य महत्त्वपूर्ण नीतिगत व्यवस्था पनि समेटिएका छन् । जस्तै—पीपीए भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गर्ने, ‘टेक अर पे’ मोडेलमा नयाँ सम्झौता गर्ने, साना आयोजनाको पीपीए तत्काल गर्ने र सुक्खा याममा प्रतिस्पर्धी दर निर्धारण गर्ने । यी व्यवस्थाले ऊर्जा बजारलाई थप व्यवस्थित बनाउने सरकारको दाबी छ। साथै, उत्पादन र व्यापार छुट्टिएपछि निजी लगानी आकर्षित हुने अपेक्षा गरिएको छ । तर सरकारको यो कदमप्रति प्राधिकरणभित्र व्यापक असन्तोष देखिएको छ। पाँचवटा कर्मचारी संगठनहरूले संयुक्त रूपमा विरोध जनाउँदै खण्डीकरणलाई “सफल संस्थालाई कमजोर बनाउने प्रयास” को संज्ञा दिएका छन् ।
उनीहरूको तर्क अनुसार २०४१ सालमा स्थापना भएको प्राधिकरणले अनेक चुनौती पार गर्दै आजको अवस्था हासिल गरेको हो। ग्रामीण विद्युतीकरणदेखि औद्योगिक विकाससम्म यसको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यस्तो अवस्थामा संस्थालाई टुक्र्याउँदा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पर्ने उनीहरूको दाबी छ । अनबन्डलिङको अर्को महत्त्वपूर्ण आयाम उपभोक्ता हितसँग जोडिएको छ। केही विज्ञका अनुसार प्रतिस्पर्धा बढेपछि सेवा सुधार हुन सक्छ र लागत घट्न सक्छ। तर कर्मचारी संगठन र केही विश्लेषकहरू यसमा सहमत छैनन् । उनीहरूको चेतावनी छ—यदि उचित नियमन भएन भने ऊर्जा क्षेत्रमा ‘कार्टेलिङ’ को जोखिम बढ्न सक्छ । छुट्टाछुट्टै कम्पनीहरूले आफ्नै हितअनुसार मूल्य निर्धारण गर्न खोजेमा उपभोक्ताले महँगो विद्युत् तिर्नुपर्ने अवस्था आउन सक्छ ।
यस्तै, ग्रामीण क्षेत्रमा सेवा विस्तारमा पनि असर पर्न सक्ने आशंका गरिएको छ। नाफामुखी संरचनामा ग्रामीण विद्युतीकरण प्राथमिकतामा नपर्न सक्छ भन्ने चिन्ता व्यक्त गरिएको छ । यसैबीच विद्युत् उपभोगमा थप कर लगाउने सरकारी तयारीले पनि विवाद चर्काएको छ। ५० युनिटभन्दा माथि खपत गर्ने उपभोक्तामाथि कर बढाउने प्रस्तावप्रति कर्मचारी संगठनहरूले असहमति जनाएका छन्।
उनीहरूका अनुसार नेपालले स्वदेशमै उत्पादन गरेको स्वच्छ ऊर्जा प्रयोग बढाउनुपर्ने बेला कर थप्नु गलत नीति हो। यस्तो कदमले विद्युतीय ऊर्जाको प्रयोग घटाउने र इन्धन आयात बढाउने जोखिम निम्त्याउन सक्छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले भने सरकारको निर्णय दीर्घकालीन रणनीतिमा आधारित रहेको बताएका छन्। उनका अनुसार अहिलेको एकीकृत संरचनाले केही हदसम्म सफलता दिलाए पनि भविष्यको ऊर्जा बजारका लागि यो पर्याप्त छैन । उनले उत्पादन, प्रसारण, वितरण र व्यापारलाई छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्दा जिम्मेवारी स्पष्ट हुने, प्रतिस्पर्धा बढ्ने र उत्तरदायित्व बलियो हुने दाबी गरेका छन् ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार यो बहस केवल संस्थागत संरचनाको विषय मात्र होइन। यो नेपालको ऊर्जा भविष्य कुन मोडेलमा अघि बढ्ने भन्ने गम्भीर रणनीतिक प्रश्न हो । एक पक्षले अनबन्डलिङलाई आधुनिक ऊर्जा बजारको आधार मानेको छ भने अर्को पक्षले यसलाई सार्वजनिक स्वामित्व कमजोर बनाउने कदमका रूपमा व्याख्या गरेको छ । अहिलेको अवस्था हेर्दा सरकार र कर्मचारीबीच स्पष्ट मतभेद देखिएको छ । यदि सरकारले सरोकारवाला पक्षसँग पर्याप्त संवाद नगरी अघि बढ्यो भने आन्दोलन चर्किन सक्ने संकेत देखिएको छ । अर्कोतर्फ, सुधार प्रक्रिया पूर्ण रूपमा रोकिँदा ऊर्जा क्षेत्रको दीर्घकालीन विकास प्रभावित हुन सक्ने तर्क पनि उत्तिकै बलियो छ ।
यसैले अबको मुख्य प्रश्न यस्तो छ—सरकारले कसरी विश्वास निर्माण गर्छ? कानुनी, प्राविधिक र प्रशासनिक तयारी कति मजबुत बनाउँछ ? र सबैभन्दा महत्त्वपूर्ण, उपभोक्ताको हित कसरी सुरक्षित गर्छ ? यी प्रश्नहरूको उत्तरले मात्र ‘अनबन्डलिङ’ सफल सुधार बन्ने कि विवादास्पद निर्णय भन्ने तय गर्नेछ ।


