काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई आधुनिक र वातावरणमैत्री बनाउने प्रयास स्वरूप महानगर यातायात प्रा.लि.ले चक्रपथ क्षेत्रमा थप १६ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएका यी बसहरूले यात्रुलाई सहज, सुरक्षित र प्रदूषणरहित यात्रा सेवा दिने लक्ष्य राखेका छन्।
नयाँ सञ्चालनमा आएका बसहरू ३३ सिट क्षमताका छन्। उभिएर यात्रा गर्ने यात्रुसहित एक बसमा करिब ७० जनासम्म अट्ने क्षमता रहेको कम्पनीले जनाएको छ। यसले व्यस्त समयको चाप व्यवस्थापनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यी बसहरू शशिला मोटर्स प्रा.लि.मार्फत चीनबाट आयात गरिएका हुन्। प्रत्येक बसमा १४४ किलोवाट क्षमताको अत्याधुनिक ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता रहेको बताइएको छ, जसले दैनिक सञ्चालनका लागि पर्याप्त दूरी कभर गर्न मद्दत पु¥याउँछ।
प्रत्येक बसको बजार मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ। प्रारम्भिक लगानी उच्च भए पनि दीर्घकालीन रूपमा सञ्चालन खर्च कम हुने भएकाले यस्तो लगानीलाई व्यावसायिक रूपमा लाभदायक मानिएको छ।
महानगर यातायातले यसअघि पनि विद्युतीय सवारीतर्फ कदम चाल्दै गत वर्ष १२ वटा बस सञ्चालनमा ल्याएको थियो। अहिले थपिएका नयाँ बससँगै कम्पनीले आफ्नो सेवा दायरा विस्तार गर्दै लगेको छ।
नयाँ बसहरूको शुभारम्भ कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले विद्युतीय सवारी साधन समयको आवश्यकता भएको उल्लेख गरे। उनले डिजेल बसको तुलनामा विद्युतीय बस सञ्चालन खर्च निकै कम हुने भएकाले आम्दानीमा समेत सकारात्मक प्रभाव परेको बताए।
उनका अनुसार विद्युतीय बसहरूले अपेक्षाभन्दा राम्रो प्रतिफल दिएका छन्। इन्धन खर्च घट्नुका साथै मर्मत सम्भार पनि तुलनात्मक रूपमा सस्तो पर्ने हुँदा व्यवसायिक रूपमा यसको भविष्य उज्ज्वल देखिएको उनले बताए।
हाल महानगर यातायातले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म सेवा सञ्चालन गर्दै आएको छ। नयाँ बस थपिएसँगै यात्रु चाप व्यवस्थापन र सेवा विस्तारमा थप सहजता आउने विश्वास गरिएको छ।
काठमाडौंजस्तो प्रदूषणको उच्च स्तर झेलिरहेको शहरका लागि विद्युतीय सार्वजनिक यातायात महत्वपूर्ण विकल्प बन्दै गएको छ। यसले वायु प्रदूषण घटाउन मात्र होइन, दीर्घकालीन रूपमा दिगो यातायात प्रणाली निर्माणमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ।


