Banijya News

सेयर बजारमा ठूलो अनुसन्धान : ५६ उच्चपदस्थको कारोबार रोक्का

1
1.0K Shares

धितोपत्र बजारसँग सम्बन्धित सम्भावित अनियमितता र कानुनी उल्लङ्घनको अनुसन्धानलाई तीव्र बनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५६ जना उच्चपदस्थ व्यक्ति तथा व्यवसायीमाथि निगरानी बढाएको छ। अनुसन्धान दायरामा रहेको मुद्दा नेपाल धितोपत्र बोर्डकै जाहेरीका आधारमा दर्ता भएको बताइएको छ । उक्त मुद्दामा नेपाल सरकार वादी रहेको छ भने दीपक भट्टसहितका व्यक्तिहरू प्रतिवादी रहेका छन् । सोही प्रकरणको अनुसन्धानलाई थप प्रभावकारी बनाउने क्रममा सीआईबीले धितोपत्र बजारसँग सम्बन्धित विभिन्न कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा लगानी समितिमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण र लगानी संरचनामाथि अध्ययन थालेको जनाएको छ ।

यसक्रममा उनीहरूको नाममा रहेको सेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई औपचारिक पत्र पठाइएको छ।

सीआईबीले जेठ ११ गते पठाएको पत्रमा ती व्यक्तिहरूको सेयर किनबेच अस्थायी रूपमा स्थगित गर्न आग्रह गर्दै उनीहरूको लगानी विवरण, सेयर स्वामित्व र सम्पत्ति संरचनासम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन माग गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा बजारमा भित्री सूचना (इनसाइडर ट्रेडिङ) वा अन्य वित्तीय अनियमितताको आशंका गरिएको स्रोतले बताएको छ।

कारोबार रोक्का गरिएका व्यक्तिहरूमा विभिन्न बीमा, माइक्रो इन्स्योरेन्स तथा लगानीसम्बन्धी संस्थाका उच्च पदाधिकारीहरू रहेका छन्। हिमालयन रि–इन्स्योरेन्ससँग आबद्ध प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित सञ्चालकहरू र लगानी समितिका सदस्यहरू अनुसन्धानको दायरामा परेका छन्। त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक समूहका केही सदस्यहरू पनि निगरानी सूचीमा समावेश छन्।

यसैगरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका उच्च तहका पदाधिकारी, सञ्चालक र लगानी समितिमा आबद्ध व्यक्तिहरूलाई पनि अनुसन्धानमा तानिएको छ। बीमा क्षेत्रका यस्ता प्रमुख निर्णयकर्ताहरू एकैपटक अनुसन्धानको घेरामा परेपछि वित्तीय क्षेत्रमा यसको प्रभावबारे चासो बढेको छ।

सीआईबीका अनुसार यो अनुसन्धान धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गतको सम्भावित कसुरसँग सम्बन्धित छ। मुद्दा नेपाल सरकार वादी रहेको र केही व्यक्तिहरू प्रतिवादी रहेका प्रकरणसँग जोडिएको बताइएको छ। उक्त मुद्दा सेबोनकै उजुरीका आधारमा दर्ता भएको हो।

अनुसन्धानको दायरा विस्तार गर्दै सीआईबीले हिमालयन लाइफ इन्स्योरेन्स, हिमालय सेक्युरिटीज, हिमालयन क्यापसर्भ र हिमालयन इन्भेष्टमेन्ट बैंकरसँग सम्बन्धित सञ्चालक तथा अधिकारीहरूको विवरण पनि मागेको छ। साथै, अन्य माइक्रो इन्स्योरेन्स कम्पनीसँग आबद्ध केही व्यक्तिहरूको सम्पत्ति र लगानी संरचनामाथि पनि अध्ययन भइरहेको जनाइएको छ।

अधिकारीहरूका अनुसार अनुसन्धानको मुख्य उद्देश्य बजारमा पारदर्शिता कायम गर्नु र सम्भावित गैरकानुनी गतिविधि नियन्त्रण गर्नु हो। “हामी सबै तथ्य र कागजातको सूक्ष्म अध्ययन गरिरहेका छौँ, आवश्यक परे थप व्यक्तिहरूलाई पनि अनुसन्धानमा ल्याइनेछ,” सीआईबी स्रोतले जनाएको छ।

पुँजी बजारसँग सम्बन्धित यति ठूलो संख्यामा उच्च तहका व्यक्तिहरूमाथि एकैपटक कारबाही प्रक्रिया अघि बढाइएपछि लगानीकर्ता समुदायमा उत्सुकता र आशंका दुवै बढेको छ। केही लगानीकर्ताले यसलाई बजार सुधारतर्फको कदमका रूपमा लिएका छन् भने केहीले अल्पकालीन रूपमा बजारमा अस्थिरता आउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

सीआईबीले भने अनुसन्धान प्रक्रिया अझै जारी रहेकाले निष्कर्षमा पुग्न केही समय लाग्ने बताएको छ। सम्बन्धित निकायहरूबीच समन्वय गरेर तथ्य सङ्कलन र विश्लेषण भइरहेको र आवश्यक परे कानुनी कारबाही अगाडि बढाइने स्पष्ट पारिएको छ।

1

Scroll to Top