Banijya News

रोकिएका आर्थिक तथा नीतिगत सुधारहरू अब अघि बढाइने

1
1.0K Shares

अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्तिको अभाव र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरू अब अघि बढाइने बताएका छन्। उनले सरकार अहिले ती अवरोधहरू हटाउँदै व्यापक सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले प्रधानमन्त्री तथा पार्टी नेतृत्वसँगको छलफलपछि सुधारका योजनाहरूलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको जानकारी दिए। उनले पार्टीको घोषणापत्रमा समावेश भएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरूलाई परिमार्जन गरी व्यवहारमा उतार्ने प्रक्रिया सुरु गरिएको बताए।

उनका अनुसार विगतमा आवश्यक राजनीतिक साहस र नीतिगत उपकरणहरूको उचित प्रयोग हुन नसक्दा महत्वपूर्ण सुधारहरू कार्यान्वयनमा आउन सकेका थिएनन्। अब भने ती कमजोरीहरूलाई सच्याउँदै आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्रसहित सरकार अघि बढिरहेको उनले उल्लेख गरे।

मन्त्री वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्नु सरकारको प्रमुख लक्ष्य भएको बताए। उनले देशमा सकारात्मक सन्देश प्रवाह गर्न र लगानीको वातावरण सुधार गर्न महत्वाकांक्षी कार्यक्रमहरू सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार २०४८ सालपछि पहिलोपटक यति ठूलो दायरामा आर्थिक सुधारका कार्यक्रमहरू घोषणा गरिएको हो, जसले अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सरकार पुराना तथा अलपत्र आयोजनाहरू सम्पन्न गर्ने दिशामा केन्द्रित भएको उनले बताए। विशेषगरी सडक पूर्वाधार क्षेत्रमा लामो समयदेखि अधुरा रहेका आयोजनाहरूलाई निश्चित समयसीमाभित्र पूरा गर्ने लक्ष्य लिइएको छ। मन्त्री वाग्लेले नेपाली जनताको लगानी अड्किएको आयोजनाहरूलाई एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएको स्पष्ट पारे।

उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका विभिन्न परियोजनाहरूलाई शीघ्र सम्पन्न गर्न पहल भइरहेको जानकारी दिए। यस्ता आयोजनाहरूमा ठूलो मात्रामा सार्वजनिक लगानी भइसकेकोले तिनलाई टुंग्याउनु अत्यावश्यक रहेको उनको भनाइ छ।

त्यसैगरी, उनले राजनीतिक श्रेय लिने प्रतिस्पर्धाभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। विभिन्न मन्त्रालयहरूबीच समन्वय गरेर साझा लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिँदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मिलेर अधुरा आयोजनाहरू सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको बताए।

1

Scroll to Top