Banijya News

दराज नेपालमा नेतृत्व परिवर्तन: आँचल कुँवर बाहिरिँदै, बेन यी कार्यवाहक प्रबन्ध निर्देशक नियुक्त

1
1.0K Shares

नेपालका अग्रणी ई-कमर्स प्लेटफर्म दराज नेपालमा नेतृत्व परिवर्तनको महत्वपूर्ण चरण सुरु भएको छ। कम्पनीकी प्रबन्ध निर्देशक आँचल कुँवरले पदबाट बाहिरिने घोषणा गरेसँगै नयाँ नेतृत्व हस्तान्तरण प्रक्रिया अघि बढाइएको छ। कम्पनीका अनुसार कुँवर असार १७ गतेदेखि औपचारिक रूपमा पदबाट बाहिरिनेछिन्।

करिब साढे चार वर्षको कार्यकालमा कुँवरले दराज नेपाललाई तीव्र वृद्धि र रूपान्तरणको मार्गमा अघि बढाउँदै उल्लेखनीय उपलब्धि हासिल गराएकी थिइन्। उनको नेतृत्वमा कम्पनीको व्यवसाय दोब्बरभन्दा बढी विस्तार भएको छ, जसले नेपालको डिजिटल व्यापार क्षेत्रमा दराजलाई बलियो स्थान दिलाएको छ।

कुँवरको कार्यकालमा ग्राहक आधार उल्लेखनीय रूपमा विस्तार भई ३० लाखभन्दा माथि पुगेको छ भने विक्रेता सञ्जाल २४ हजार नाघेको कम्पनीले जनाएको छ। यीमध्ये करिब ८५ प्रतिशत साना तथा मझौला उद्यम (एसएमई) रहेको तथ्यले दराजले स्थानीय व्यवसाय प्रवर्द्धनमा खेलेको भूमिकालाई स्पष्ट पार्छ। साथै, कम्पनीको सेवा पहुँच देशभरका १४० भन्दा बढी स्थानसम्म विस्तार भएको छ।

नेतृत्व हस्तान्तरणलाई सहज र प्रभावकारी बनाउन कुँवरले आगामी पुस १६ गतेसम्म सल्लाहकारको भूमिकामा कम्पनीसँग जोडिरहनेछिन्। यसले नयाँ नेतृत्वलाई निरन्तरता र स्थायित्व दिन मद्दत पुग्ने विश्वास गरिएको छ।

यसैबीच, दराजले प्रमुख व्यावसायिक अधिकृत तथा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीलाई दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ। सन् २०१५ मा अलिबाबा समूहसँग आबद्ध भएदेखि उनले डिजिटल बजार विस्तार, सीमापार व्यापार, व्यवसाय विकास तथा प्लेटफर्म सञ्चालनका क्षेत्रमा व्यापक अनुभव हासिल गरेका छन्।

कम्पनीका अनुसार बेन यीको नेतृत्वमा दराज नेपालले आगामी दिनमा नवप्रवर्तन, सेवा विस्तार र क्षेत्रीय समन्वयलाई थप गति दिने अपेक्षा गरिएको छ। डिजिटल वाणिज्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच उनको अनुभव कम्पनीका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ।

यस्तै, कम्पनीले आन्तरिक व्यवस्थापनलाई थप सुदृढ बनाउन रतिश लुइँटेललाई प्रमुख व्यावसायिक अधिकृत (सीसीओ) पदमा नियुक्त गरेको छ। उनले अब कम्पनीको दैनिक व्यावसायिक सञ्चालन र रणनीतिक कार्यान्वयनको नेतृत्व गर्नेछन्।

दराज नेपालमा भएको यो नेतृत्व परिवर्तनलाई कम्पनीको दीर्घकालीन रणनीतिक योजनाको हिस्साका रूपमा हेरिएको छ। विशेषगरी दक्षिण एसियाली बजारमा दराजको उपस्थिति सुदृढ गर्ने तथा डिजिटल व्यापारलाई थप विस्तार गर्ने लक्ष्यअनुसार व्यवस्थापन संरचनामा परिवर्तन गरिएको जनाइएको छ।

1

Scroll to Top