Banijya News

एक दशकमा १०० अर्ब डलरको अर्थतन्त्र सम्भव : अध्यक्ष पाण्डे

1
1.1K Shares

नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपयुक्त नीतिगत सुधार र निरन्तर आर्थिक वृद्धिदर कायम गर्न सके एक दशकभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्‍याउन सकिने बताएका छन्। आज आयोजित परिसङ्घको २३औँ वार्षिक साधारणसभामा उनले यस्तो दाबी प्रस्तुत गरेका हुन्।

अध्यक्ष पाण्डेका अनुसार परिसङ्घले लगानी बोर्डसँगको सहकार्यमा तयार पारेको विस्तृत अध्ययनले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा उक्त लक्ष्य हासिल गर्न सकिने देखाएको छ। उनले भने, “करिब आठ महिनासम्म बीसभन्दा बढी विज्ञले गरेको अध्ययनले यो लक्ष्य यथार्थपरक रहेको देखाएको छ।”

उनका अनुसार उक्त लक्ष्य हासिल गर्न वार्षिक औसत करिब ६ प्रतिशत आर्थिक वृद्धिदर आवश्यक पर्नेछ। सरकारले हाल ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य लिएको भए पनि दीर्घकालीन रूपमा स्थिर ६ प्रतिशत वृद्धि कायम राख्न सके पनि लक्ष्य प्राप्ति सम्भव हुने अध्ययनले देखाएको उनले स्पष्ट पारे।

अर्थतन्त्र विस्तारका लागि सिएनआईले विभिन्न क्षेत्रलाई प्राथमिकतामा राख्दै १०० वटा सम्भावित सुधारका उपायहरू प्रस्ताव गरेको छ। ऊर्जा, उत्पादनमूलक उद्योग, पर्यटन, सूचना तथा सञ्चार प्रविधि (आइसिटी), कृषि, पूर्वाधार विकास र संस्थागत सुधारलाई मुख्य आधारका रूपमा अघि सारिएको छ।

पाण्डेका अनुसार अध्ययनमा पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, उत्पादन, पर्यटन, कृषि, खानी तथा खनिज, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई केन्द्रमा राखिएको थियो। सन् २०२५ लाई आधार वर्ष मानी सन् २०३० सम्म सुधारका प्रभावहरूको विश्लेषण गरिएको उनले बताए।

उनले निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै लगानी, रोजगारी सृजना र आर्थिक गतिविधि विस्तारमा निजी क्षेत्र अग्रसर हुनुपर्ने बताए। “सरकारले लगानीमैत्री नीति ल्याउनु आवश्यक छ भने विकास साझेदारबाट ज्ञान, प्रविधि र वित्तीय सहयोग अपरिहार्य हुन्छ,” उनले भने।

नेपालमा उपलब्ध प्राकृतिक स्रोतसाधन र मानव स्रोतलाई सदुपयोग गर्न सके आर्थिक रूपान्तरण सम्भव हुने उनको धारणा छ। गरिबी न्यूनीकरण, विद्युत् पहुँचको विस्तार, जलविद्युत्को ठूलो सम्भावना, युवा जनशक्ति, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन तथा रणनीतिक भौगोलिक अवस्थिति जस्ता पक्षहरूले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

यसका साथै डिजिटल क्षमताको विस्तार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सके आर्थिक गतिविधिमा थप गति आउने उनको भनाइ छ। उनले सरकारी तथा निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै नीति, योजना र कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताए।

1

Scroll to Top